Radio Unity 92.2MHz

चौतर्फी दबाबपछि ‘अवैधानिक’ शिक्षक सरुवा फिर्ता

डडेल्धुराः चौतर्फी दबाब बढेपछि अन्ततः राजनीतिक पावरले दरबन्दी नै खाली नभएको विद्यालयमा सरुवा गरिएका शिक्षक लालबहादुर साउँदको सरुवा फिर्ता भएको छ।

गन्यापधुरा गाउँपालिका–१ रुवाखोलास्थित असिग्राम माध्यमिक विद्यालयमा निमावि तृतीय श्रेणीमा कार्यरत शिक्षक साउँदको अमरगढी नगरपालिका–५ खलंगास्थित महेन्द्र माध्यमिक विद्यालयमा सरुवा गरिएको थियो।

शिक्षक साउँदको सरुवा गरिएको भएपनि महेन्द्रमा दरबन्दी खाली नभएपछि उनले हाजिरी लगाउन पाएका थिएनन् भने असिग्रामले रमना दिएको थिएन। २०८१ असार २३ गते शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराले शिक्षक सुरुवा गरेको थियो तर चर्को विवादकाबीच शिक्षक साउँदको सरुवा फिर्ता भएको हो।

आइतबार शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले यथावत अध्यापन गर्नेबारेको पत्र पठाएपछि शिक्षक साँउद असिग्राम मावि गन्यापधुरा–१ रुवाखोलामै फिर्ता भएका हुन्।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नारदप्रसाद जोशीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘…असिग्राम मावि गन्यापधुरा १ रुवाखोलाबाट महेन्द्र मावि अमरगढी ५ खलङ्गा डडेल्धुरामा सरुवा गरिएकोमा उक्त विद्यालयमा रिक्त पद नभएको र थप दरबन्दी मिलान तथा वितरण गर्न सक्ने अवस्था तत्काल नरहेकोले तपाईंलाई दरबन्दी रहेकै विद्यालय असिग्राम मावि गन्यापधुरा १ रुवाखोला डडेल्धुरामा यथावत् अध्यापन कार्य गर्न हुन अनुरोध गरिन्छ।’

लालबहादुर सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काका श्रीमान् हुन्। सांसद खड्काले नै शिक्षक पतिको सरुवा गराउन राजनीतिक आडमा सचिव मार्फत शिक्षा विकास तथा समन्वय इकाईमा पत्र पठाउन लगाएको खुलेको थियो।

तर बिना दरबन्दीको विद्यालयमा राजनीतिक पहुँचले शिक्षक सरुवा निर्देशिका विपरीत लालबहादुरको सरुवा भएपछि रुवाखोलाका शिक्षक, विद्यार्थी तथा अभिभावक आन्दोलित भएका थिए। असिग्रामका विद्यार्थीले नेपाली विषयको पुस्तकसमेत शिक्षा समन्वय इकाईलाई बुझाएका थिए।

शिक्षक साउँदको सुरु दरबन्दी बैतडीको सिगास गाउँपालिकामा रहेको र त्यहाँबाट आलिताल गाउँपालिका हुँदै उनी गन्यापधुरा पुगेका थिए। उनी जिल्ला सदरमुकामको महेन्द्र माविमा आउन चाहान्छन्।

सम्बन्धित पाेष्टहरु
Loading...