डडेल्धुरा: जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा एकवर्षको अवधिमा एक सय २० मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्ष २०८०/८१ मा प्रहरी कार्यालयमा सो संख्यामा मुद्दा दर्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालयले सोमबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ मा ९७, ०७९/८० मा ९९ र गत आव ०८०/८१ मा १२० मुद्दा दर्ता भएको प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए।
उनका अनुसार गत आव ०८०/८१ मा ७१ मुद्दा फछ्र्यौट र ४९ मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन्। ‘कार्यलायमा दर्ता भएका ४६ वटा मुद्दा दुई वर्ष कुर्नुपर्ने हुन्छ, ३ वटा मुद्दा चालु अवस्थामा रहेका छन्,’ प्रहरी निरीक्षक थापाले भने, ‘जिल्लामा अघिल्ला आवभन्दा आव २०८०/८१ मा लागुऔषध, जबरजस्तीकरणी, बहुविवाह, जुवा र सवारी दुर्घटनाका घटनामा वृद्धि भएको पाइएको छ।’
२०८०/८१ मा विष सेवन गरी आत्महत्या, झुण्डी आत्महत्याका घटनामा भने कमी आएको उनले बताए। जनचेतनामा वृद्धि, समुदाय प्रहरी साझेदारीअन्तर्गत आत्महत्यासम्बन्धी जिल्लाभर ४९ वटा र हिंसासम्बन्धी ९६ वटा गरी जम्मा १४५ वटा कार्यक्रमसमेत सञ्चालन गरिएकाले त्यस्ता घटनामा कमी आएको इन्स्पेक्टर थापाको दाबी छ।
उनका अनुसार प्रहरीले जिल्लाभर अवैध गाँजाका बोटहरू फँडानीलाई पनि तीव्रता दिइरहेको छ। गत आव २०८०/८१ मा ७५ रोपनी गाँजा फँडानी गरिएको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ। प्रहरीले जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा ६० र २०७९/८० मा ४६ रोपनी गाँजा फँडानी गरेको थियो।
गत आर्थिक वर्षमा भारतबाट महाकाली नदीमा ट्युब लगाई पास गरी लुकाईछिपाई भन्सार छलिका एक लाख ३४ हजार २४० रुपैयाँ बराबरको सामान बरामद गरिएको पनि प्रहरीले जनाएको छ। ८ अवैध बालुवा गिट्टी चोरी गर्ने १०१ वटा सवारी साधन नियन्त्रणमा लिई सम्बन्धित स्थानीय पालिकामा बुझाई ८५ हजार ५४० रुपैयाँ राजस्व संकलन गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
ट्राफिक कारबाहीबाट गत वर्ष प्रहरीले ३० लाख ४७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष जिल्लामा ५ हजार २८७ सवारीसाधन कारबाहीमा परेका थिए। आव २०८०/८१ मा ११४ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका थिए।
जसमा ११० जना फेला परेको र ४ जना फेला पर्न बाँकी रहेको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले अपराधिक घटना न्यूनीकरण गर्नमा प्रहरी सक्रिय भएर लागिरहेको बताए।