Radio Unity 92.2MHz

हगुल्टे लेकमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–१ र गन्यापधुरा–१ को सिमानमा पर्ने हगुल्टे लेकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।

अमरगढी नगरपालिका–१ स्थित अर्जुनवाण गण दहव्यारेकबाट सहसेनानी सुनिल बस्नेतको कमाण्डमा खटिएको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुलाई निष्क्रिय पारेको हो।

बिहीबार बेलुकी पौने ५ बजेतिर भीमदत्त राजमार्गदेखि करिब ७ मिटर पश्चिमतर्फ शंकास्पद वस्तु देखा परेको खबर पाएपछि बम डिस्पोजल टोली त्यहाँ खटिएको थियो।

अर्जुनवाण गण दहव्यारेकका प्रमुख सेनानी उज्वल थापाका अनुसार पहिलोपटक डिस्पोज गर्दा सो शंकास्पद वस्तुको बिर्कोको भाग नखुलेको र शंकास्पद वस्तुमा रातो रंगको दुईवटा शंकास्पद तार देखा परेको थियो।

उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्फोजल टोलीले राति ७:४३ बजे पुनः दोस्रोपटक सुरक्षितसँग निष्क्रिय पारेको गणका प्रमुख सेनानी थापाले जानकारी दिए।

द्वन्द्वका समयमा उक्त क्षेत्रमा तत्कालीन विद्रोही माओवादी र नेपाली सेनाबीचमा पटकपटक दोहोरो भिडन्त हुने गर्दथ्यो। सोही समयको युद्धका क्रममा उक्त शंकास्पद वस्तु राखिएको हुनसक्ने अनुमान गरिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...