डडेल्धुरा: सुदूरपश्चिमेलीहरूको महान् पर्व गौराको अवसरमा डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय ‘राष्ट्रिय गौरा महोत्सव २०८१’ सुरु भएको छ। विगतका वर्षहरू झै यसवर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिको आयोजनामा बागबजार बसपार्कमा गौरा महोत्सव सुरु भएको हो।
बुधवार डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले महोत्सवको उद्घाटन गरे। बसपार्क माथि रहेको राधाकृष्ण मन्दिरबाट गौरा, महेश्वरलाई फाग गाउँदै महिलाहरूले बसपार्कमा बालो नाच प्रदर्शन गरेका थिए।
स्थानीय कला संस्कृतिको सम्मान तथा युवापिँढीमा हस्तान्तरण होस् भन्ने महोत्सवको उद्देश्य रहेको आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुरा अध्यक्ष देवराज भट्टले जानकारी दिए।
महोत्सवमा गौरा नाच, बालो नाच, चैत, धुमारी, डेउडा जस्ता सांस्कृतिक कार्यक्रमहरू हुँदैछन्। बुधवारदेखि सुरु भएको महोत्वस गौरा देवीको धार्मिक परम्पराअनुसार भदौ १५ गते विसर्जन गरी महोत्सवको समापन गरिनेछ।