डडेल्धुरा: मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १८औं राष्ट्रिय दिवस डडेल्धुरामा पनि मनाइएको छ।
जिल्ला मूल समारोह समिति डडेल्धुराको आयोजनामा बिहीवार ‘तीनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो।
सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको महासन्धि २०६३ भदौ २० गते तत्कालीन प्रतिनिधिसभाबाट अनुमोदन गरिएको थियो। त्यही दिनको स्मरणमा हरेक वर्ष मानव बेचबिखनविरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो।
दिवसका अवसरमा डडेल्धुराको तुफानडाँडादेखि बागबजारसम्ममा सचेतनामूलक पम्पलेट बोकेर प्रभातफेरी निकालिएको हो। प्रभातफेरी तुफानडाँडा चोकबाट बसपार्क पुगेर कोणसभामा परिणत भएको थियो।
प्रभातफेरी कार्यक्रममा सहभागीले ‘आफ्नो सुरक्षामा आफैं लागौँ, मानव बेचबिखनविरुद्ध हामी सबै जागौँ, हाम्रो सबैको एउटै चाहना मानव बेचबिखनरहीत समाजको परिकल्पना, हामी सबै लागौं, मानव बेचबिखन अन्त्य गरौं’ लगायतका प्लेकार्ड बोकेका थिए।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराका निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले मानव बेचबिखन विश्वव्यापी समस्या रहेको बताए। ‘यो विकराल रूपमा छ। सीमान्तीकृत समुदायका मानिसहरू बेचबिखनको जोखिममा छन्,’ उनले भने, ‘न्यूनीकरण गर्न तीनै सरकारले काम गरिरहेका छन्। स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ। तीन सरकारले गरेर अगाडि बढेमा यो न्यूनीकरण गर्न सकिन्छ।’
उनले मानव बेचबिखनका कारणहरूलाई पहिचान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। गरिबी र अशिक्षालगायतका कारणले मान्छे मानव बेचबिखनमा पर्ने उनको भनाइ थियो। कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी संघसंस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अमरगढी नगरपालिकाका कर्मचारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।