डडेल्धुरा: डडेल्धुरा जिल्ला सदरमुकाममा ‘अमरगढी टी–२० कप पुरुष क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ।
सम्मान–समानता आर्थिक समृद्धि डडेल्धुराको आयोजनामा अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा यही असोज १८ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
जिल्लाको कला संस्कृति र खेलकुद विकास प्रतिष्ठा वृद्विमा खेलकुदको माध्यमले सहयोग पुर्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको सम्मान–समानता आर्थिक समृद्धि डडेल्धुराका निर्देशक विक्रम जैरुले बताए।
उनका अनुसार प्रतियोगिताका विजेतालाई १ लाख नगद र उपविजेतालाई ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ८ हजार, सर्वोष्कृट ब्याटरलाई नगद ५ हजार, सर्वोष्कृट बलरलाई ५ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई एक हजार प्रदान गरिने छ। उनीहरूलाई पनि ट्रफी र मेडल दिइने निर्देशक जैरुले बताए।
प्रत्येक टिममा यू–१९ का दुई जना खेलाडीलाई अनिवार्य रूपमा समावेश गर्नुपर्ने आयोजकले जनाएको छ। टिम दर्ता असोज १६ गतेसम्म हुने र दर्ता शुल्क १२ हजार तोकिएको आयोजक दीप डडेल्धुराका संयोजक राजन जैरुले बताए। उनले भने, ‘आईसीसीको नियमअनुसार खेल खेलाइनेछ। खेलाडीहरू डडेल्धुरा जिल्लाभित्रका मात्रै हुनुपर्ने छ।’