डडेल्धुरा: डडेल्धुराको अजयमेरू गाउँपालिका-६ राजुलमा तीनदिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल डडेल्धुराबाट सञ्चालित सक्षम परियोजना र अजयमेरू गाउँपालिकाको संयुक्त आयोजनामा उक्त तालिम बिहीबार सम्पन्न भएको हो।
तालिममा व्यवसाय कसरी छनोट गर्ने, आफ्नो क्षेत्रमा रहेका सम्भावना, स्रोतसाधनको कसरी उचित प्रयोग गर्ने, व्यवसायिक दीर्घकालीन योजनासँगै जोखिम न्यूनीकरणलगायतका विषयलाई (TOPE) व्यवसाय सचेतना तथा सुरु game model 1 र (TOSE) माग तथा आपूर्ति game model 2 को माध्यमबाट सिकाइएको राष्ट्रिय मुक्त हलिया समाज महासंघकी उद्यम विकास सहजकर्ता द्वारीका जोशीले जानकारी दिइन्।
मुक्त हलिया र दलित समुदायका व्यक्तिहरूको जीविकोपार्जन तथा आर्थिक रूपमा जीवनयापन सजिलो होस् भन्ने उद्देश्यले परियोजनाले उधमशीलता तालिमका साथै व्यवसायका लागि आयआर्जन गर्न आर्थिक सहयोग पनि गर्दै आएको उनले बताइन्। तालिममा मुक्त हलिया र दलित समुदायका गरी २० जनाको सहभागिता रहेको थियो।