Radio Unity 92.2MHz

डडेल्धुरा अस्पतालको क्षमता मूल्याङ्कन गर्न कृतिम दुर्घटना अभ्यास

डडेल्धुराः डडेल्धुरा अस्पतालमा कृतिम दुर्घटना अभ्यास गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको आयोजनामा शनिबार बिहान उक्त कृतिम अभ्यास गरिएको हो।

सवारी दुर्घटनाको बेला घटना व्यवस्थापन तथा उपचारमा अस्पतालको क्षमताको मूल्यांकन गर्न सो अभ्यास गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य प्रशासक बन्दना भट्टले जानकारी दिइन्। अस्पताल विपद् तयारी र प्रतिक्रिया योजनाको मूल्यांकन गर्न पनि कृतिम अभ्यास गरिएको उनले बताइन्।

कृतिम अभ्यासका क्रममा अस्पतालमा बस दुर्घटनामा परेर मृत्यु, सामान्य र गम्भीर घाइते गरी २८ जनालाई दुईवटा एम्बुलेन्स र एउटा बसमा पठाइएको थियो।

अस्पताल पुग्दा डडेल्धुरा अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकको टोली उपचारमा खटिएको थियो। एम्बुलेन्सबाट बिरामी झिकेर आपतकालीन कक्षहरूमा पुर्‍याइएको थियो।

दुर्घटनाका घाइतेहरू कसैको टाउकोमा चोट थियो, कसैको हात खुट्टा भाँच्चिएका थिए, कतिको छातीमा चोट थियो। घाइतेहरूको आवश्यकताअनुसार एक्सरे, भिडियो एक्सरे, इसिजीलगायतका प्रविधिको प्रयोगबाट समेत उपचार गरियो।

अस्पतालमा पनि सर्वसाधारणको दौडादौड र भिडभाड बढिरहेको थियो। दुर्घटनाबारे सोधखोज पनि चलिरहेको थियो। अस्पतालका सबै स्वास्थ्यकर्मी, उपलब्ध उपकरण, औषधिलगायतको सक्दो परिचालन अस्पतालले गरेको थियो।

आकस्मिक तरिकाले गरिएको कृतिम अभ्यासलाई हेर्दा डडेल्धुरा अस्पतालको सेवासुविधा राम्रो रहेको पाइएको जनस्वास्थ्य प्रशासक भट्टले बताइन्।

अस्पतालका प्रमुख डा. नरेन्द्रकुमार खनालले अस्पतालमा आकस्मिक अवस्थामा चाहिने सबै सेवालाई थप सुधार गर्दै लैजाने प्रतिबद्धतासमेत जनाए।

      

सम्बन्धित पाेष्टहरु
Loading...