Radio Unity 92.2MHz

व्यवसायीहरू विकासका विरोधी नभई साझेदार हुन् : अध्यक्ष महता

डडेल्धुरा: नववर्ष २०८३ सालको शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ।

डडेल्धुरा उद्योग वाणिज्य संघको आयोजनामा शनिवार उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष दीपकबहादुर महताले बजार क्षेत्रमा पार्किङको ठूलो अभाव रहेको, सडक बत्तीको उचित व्यवस्था नभएको तथा बजार व्यवस्थापनमा थप ध्यान दिनुपर्ने अवस्था रहेको बताए।

उनले व्यवसायीहरू विकासका विरोधी नभई विकासका साझेदार भएको स्पष्ट पार्दै व्यावसायिक क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गरे।

अध्यक्ष महताले बजार क्षेत्रलाई सफा, सुन्दर र व्यवस्थित बनाउन सबै पक्षले साझा पहल गर्नुपर्नेमा जोड दिँदै जिल्लाको समग्र विकासका लागि निजी क्षेत्र सधैं सहयोग गर्न तयार रहेको बताए। साथै, वाणिज्य संघको नयाँ नेतृत्व सर्वसम्मत गराउन सहयोग गर्ने सम्पूर्ण व्यवसायीप्रति उनले धन्यवाद व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले विकास निर्माणका योजनालाई सफल बनाउन व्यवसायी वर्गको साथ, सहयोग र सहभागिता अपरिहार्य रहेको बताए । उनले निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य बढाउँदै लैजानुपर्ने धारणा राखे।

त्यसैगरी संघका वरिष्ठ उपाध्यक्ष लालमणि पन्तले व्यवसायीहरूको हकहित संरक्षणका लागि संघ निरन्तर सक्रिय रहेको र आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

नयाँ वर्षको अवसरमा आयोजित उक्त कार्यक्रमले निजी क्षेत्र, स्थानीय सरकार र सरोकारवालाबीच सहकार्य तथा समन्वयको सन्देश दिएको छ।

कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, व्यवसायी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...