डडेल्धुरा: सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन, कला, संस्कृति तथा औद्योगिक व्यापार मेला एवं डडेल्धुरा महोत्सव जारी छ। राष्ट्रिय संगीतकर्मी संघ डडेल्धुराको आयोजनामा अमरगढी नगरपालिका–४ टुँडिखेलमा सोमबारदेखि महोत्सव सुरु भएको थियो।
मंगलबार महोत्सवमादर्शक एवं अवलोकनकर्ताको न्यून उपस्थिति देखिएको छ। महोत्सव अवलोकन गर्नका लागि सर्वसाधारणका लागि प्रवेश शुल्क एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ। तर पनि महोत्सव अवलोकन गर्ने दर्शकको संख्या मंगलबार एक सयको हाराहारीमा पनि थिएन।
महोत्सवमा बनाइएका अधिकांश स्टलहरू खाली छन्। ८० प्रतिशत स्टलहरू खाली भएपछि पुगेका दर्शकहरू पनि ‘निराश भएर’ फर्किएको देखिन्थे।
महोत्सवमा मंगलबार कलाकार सौगात ओझा, भावना चन्द, शेरे औजी, सनम परियारलगायतले प्रस्तुति दिएका थिए। यसअघि यहाँ आयोजना हुने महोत्सवमा आइरहने कलाकार सौगात ओझा मंगलबार भने थोरै दर्शक देखेर अचम्मै परे।
२०७५ सालमा यहाँको महोत्सवमा आउँदा निकै भिडभाड रहेको मञ्चबाटै स्मरण गर्दै उनले आजभोलि डडेल्धुराका दर्शकश्रोता कहाँ गए? भन्दै प्रश्न गरे। उनले एकदुई जना दर्शक भएपनि आफूले गीत सुनाउने भन्दै आफ्ना केही गीतहरू गाए।
मंगलबार दर्शक एवं अवलोकनकर्ताको न्यून उपस्थिति भएपछि आयोजक झस्किएको छ। तर बिदाको दिन दर्शकहरू भरिभराउ हुने आयोजकको दाबी छ। महोत्सव २२ गतेसम्म सञ्चालन हुने बताइएको छ।
यो पनि पढ्नुहोस् : टुँडिखेलमा डडेल्धुरा महोत्सव सुरु, पूर्वमन्त्री बोहराले गरे उद्घाटन