डडेल्धुरा: पत्रकार सुरेश रजकको हत्याविरुद्ध नेपाल पत्रकार महासंघ डडेल्धुराले विरोध प्रदर्शन गरेको छ। महासंघको ७०औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको औपचारिक कार्यक्रमलाई रद्द गरी डडेल्धुरामा शनिबार विरोधसभा गरिएको हो।
पत्रकारहरूले हात र टाउकोमा कालो पट्टी बाँधेर र्याली निकालेका थिए। बागबजारमा आयोजित कोणसभामा पत्रकारहरूको हत्याका दोषीलाई कडा कारबाही गर्न माग समेत गरेका छन् ।
नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले मृतक पत्रकारको न्यायका लागि छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरे। उनले पत्रकार सुरेश रजकमाथि नियोजित आक्रमण भएको आरोप लगाउँदै यस्ता घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गराएको बताए।
निवर्तमान सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष राम धामीले गणतन्त्र स्थापनापछि पनि स्वतन्त्र पत्रकारहरू असुरक्षित रहेको भन्दै आपत्ति जनाए। उनले यस घटनालाई पत्रकारको हत्या भन्दै गृहमन्त्री रमेश लेखकलाई हिंसा रोक्न पहल गर्न आग्रह गरे।
निवर्तमान केन्द्रीय सदस्य उत्तर विष्टले स्थापना दिवसकै दिन विरोधसभा गर्नुपर्ने स्थिति दुर्भाग्यपूर्ण भएको बताए। उनले पत्रकारहरूले सत्यतथ्य बाहिर ल्याउने कार्यमा ज्यान गुमाउनु पर्ने अवस्था नआओस् भन्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकारलाई सचेत गराए।
पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष मानबहादुर साउँदले कथित राजावादी आन्दोलनकारीले रिपोटिङ गरिरहेका पत्रकारलाई आगो लगाएर जिउँदै जलाएको बताए।
नेपाल पत्रकार महासंघ २०१२ साल चैत १६ गते गठन भएको हो। २०५३ सालदेखि चैत १६ लाई स्थापना दिवसका रूपमा मनाइँदै आएको छ। तर, यस वर्ष पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममा भएका तोडफोड तथा आगजनीका कारण औपचारिक कार्यक्रम रद्द गरिएको महासंघले जनाएको छ।
शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको ज्यान गएको थियो। सोही प्रदर्शनका क्रममा विभिन्न सञ्चारमाध्यममा तोडफोड र आगजनी भएको थियो।