Radio Unity 92.2MHz

डडेल्धुराको राष्ट्रपति रनिङ शिल्डमा विवाद, छात्र भलिबल फाइनल स्थगित

डडेल्धुरा: डडेल्धुरामा जारी जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विवाद उत्पन्न भएको छ। अमरगढी नगरपालिका–४ टुँडिखेलमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा बिहीबार विवाद भएको हो।

विवादका कारण बिहीबारका लागि तय भएको छात्र भलिबल फाइनल स्थगित भएको छ। छात्र भलिबलको फाइनलमा परशुराम नगरपालिका र अमरगढी नगरपालिका भिड्ने तालिका थियो। तर परशुराम नगरपालिकाले एक खेलाडी फर्जी खेलाएको आरोप अमरगढीले लगाएपछि फाइनल स्थगित भएको हो।

ती खेलाडीले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता नजनाएको र सीधै जिल्ला स्तरीय प्रतियोगितामा खेलाउन ल्याएको अमरगढीले आरोप लगाएको छ। तर, परशुराम नगरपालिकाले भने आफूहरूले सबै प्रक्रिया पुर्‍याएर ती खेलाडीलाई प्रतियोगितामा ल्याएको दाबी गरेको छ।

परशुराम नगरपालिकाले ती खेलाडी खेल्न योग्य रहेको दाबी गर्दै आएको छ। बिहीबार दिउँसो २ बजेबाट सुरु हुने भनिएको फाइनल खेल बेलुकी पौने ६ बजेसम्म पनि विवाद साम्य नभएपछि खेल स्थगित गरिएको हो।

विवाद आयोजक र निर्णायकले समाधान गर्न नसकेपछि फाइनल खेल हेर्न पुगेका सयौँ दर्शक निरास हुँदै घर फर्किएका थिए। विवाद समाधान गरी फाइलन खेल भोलि (शुक्रबार) बिहान खेलाइने जिल्ला खेलकुद समिति डडेल्धुराले जनाएको छ।

रोचक कुरा त के छ भने जारी प्रतियोगितामा अमरगढी र परशुरामले समान १९/१९ स्वर्ण पदक जितेका छन्। छात्र भलिबल फाइनल खेलले नै प्रतियोगिताको विजेता टुंगो लगाउनेछ।

परशुरामले यसअघि १३औँ र १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेको थियो। परशुराम यसपटक लगातार तेस्रोपल्ट उपाधि जित्दै राष्ट्रपति रनिङ शिल्ड कब्जा गर्न चाहन्छ। अमरगढी भने परशुरामलाई उपाधि जित्नबाट रोक्ने लक्ष्यमा छ।

सम्बन्धित पाेष्टहरु
Loading...