डडेल्धुरा: कैलालीको चुरे गाउँपालिकाले डडेल्धुरामा सम्पन्न द्वारिकादेवी ठकुरानी सुदूरपश्चिम प्रदेश अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
आज (आइतबार) भएको फाइनल खेलमा नाैगाड गाउँपालिका दार्चुलालाई ३-० को सोझो सेटमा हराउँदै चुरेले उपाधि उचालेको हो।
उपाधि जितेको चुरेले एकलाख एकसय ११ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय भएको नाैगाडले ५१ हजार एकसय ११ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
अमरगढी नगरपालिका डडेल्धुरालाई ३-० को सोझो सेटमै पराजित गर्दै परशुराम नगरपालिका तृतीय भयो। उसले २५ हजार एकसय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
प्रथम, द्वितीय र तृतीय टिमलाई कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले ट्र्फी र चेक हस्तान्तरण गरिन्।
जिल्ला भलिबल संघ डडेल्धुराको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिमका ६ पालिकाको सहभागिता थियो।