डडेल्धुरा: संविधान दिवस तथा राष्ट्रिय एकता दिवसको अवसरमा डडेल्धुरामा राष्ट्रिय फूल लालीगुराँसका बिरुवा रोपिएको छ। जिल्ला समारोह समिति डडेल्धुराको आयोजनामा ऐतिहासिक अमरगढी किल्ला परिसरमा राष्ट्रिय फूल लालीगुराँसको वृक्षारोपण गरिएको हो।
लालीगुराँसको संरक्षण तथा संवद्र्धनसँगै राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। डडेल्धुरा सदरमुकामलाई लालीगुराँसमय बनाउने उद्देश्यले कर्मचारी मिलन केन्द्र डडेल्धुराले पनि विगत केही वर्षदेखि सदरमुकाम क्षेत्रमा लालीगुराँसका बिरुवा रोप्दै आएको छ।
केन्द्रका अध्यक्ष करुणाकर अवस्थीले लालीगुराँस संरक्षण र संवद्र्धनको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सबैको महत्वपूर्ण भूमिका आवश्यक रहेको बताए। सदरमुकाम क्षेत्रलाई लालीगुराँसमय बनाउन निरन्तर वृक्षारोपण र संरक्षणमा जोड दिनुपर्ने उनले बताए।
नेपालको संविधान २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ।
नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको थियो। दोस्रो संविधानसभा निर्वाचनपछि गठित संविधानसभाले लामो छलफल र विवादपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासहितको संविधान जारी गरेको थियो।
२०७२ साल असोज ३ गते राति तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले काठमाडौंको नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट नेपालको संविधान जारी भएको घोषणा गरेका थिए। संविधान दिवसका अवसरमा संघ, प्रदेश र स्थानीय सरकारका साथै विभिन्न राजनीतिक दल, संघसंस्था तथा नागरिकस्तरबाट देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।
