डडेल्धुरा: विज्ञान दिवसको अवसरमा डडेल्धुराको अमरगढी नगरपालिकामा आयोजित नगरस्तरीय विज्ञान कला प्रदर्शनीमा महेन्द्र माध्यमिक विद्यालय खलंगाले प्रथम स्थान हासिल गरेको छ।
बिहीवार अमरगढी नगरपालिका र महेन्द्र माध्यमिक विद्यालय खलंगाको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा अमरगढी नगरपालिकाभित्रका ९ वटा विद्यालय सहभागी भएका थिए।
विद्यार्थीभित्र लुकेको सिर्जनशीलता, वैज्ञानिक सोच र प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको महेन्द्र माविका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरले जानकारी दिए।
विद्यार्थीले आफूले तयार पारेका विभिन्न वैज्ञानिक सामग्री, प्रविधिमा आधारित नमुना तथा कलात्मक सिर्जना प्रदर्शनीमा राखेका थिए। विद्यार्थीका सिर्जनात्मक र वैज्ञानिक नमुनाले प्रदर्शनीस्थलमा उत्साह थपेको थियो। किताबी ज्ञानलाई व्यवहारसँग जोड्दै विद्यार्थीले आफ्नै सोच, सीप र सिर्जनशीलतामार्फत तयार पारेका सामग्री प्रस्तुत गरेका थिए।
प्रदर्शनीमा उत्कृष्ट प्रदर्शन गर्दै महेन्द्र माध्यमिक विद्यालय खलंगा प्रथम भएको छ। माउन्टेन इङ्लिस मिडियम बोर्डिङ स्कुल द्वितीय र क्याम्ब्रिज पब्लिक स्कुल तृतीय भएका छन्।
प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। सहभागी अन्य विद्यालयलाई समेत प्रोत्साहनस्वरूप ३ हजार रुपैयाँ प्रदान गरिएको महेन्द्र माध्यमिक विद्यालयका सूचना अधिकारी धर्मराज पन्तले जानकारी दिए।
उनका अनुसार महेन्द्र माविको विज्ञान विषय प्रवर्द्धन कार्यक्रमअन्तर्गत विज्ञान कला प्रदर्शनी आयोजना गरिएको हो। विद्यार्थीको प्रतिभा पहिचान, वैज्ञानिक सोचको विकास र सिर्जनशीलतालाई प्रोत्साहन गर्न यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ।


