डडेल्धुरा: नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (एमाले)सँग एकता हुने कुनै सम्भावना नरहेको बताएका छन्।
शनिबार समाजवादी प्रेस संगठन नेपाल डडेल्धुराले जिल्ला सदरमुकाम आयोजना गरेको पक्रकार सम्मेलनमा उनले एकताको सम्भावना नरहेको बताएका हुन्। उनले केपी शर्मा ओली एमालेको नेतृत्वमा रहँदासम्म पार्टी एकता हुनै नसक्ने बताए।
‘एमाले पार्टी ओलीकरण भइसकेको छ। ओली एमालेको नेतृत्वमा छँदासम्म पार्टी एकताको कुनै पनि सम्भावना नै छैन,’ उनले भने, ‘ओलीको नेतृत्वले देशलाई अगाडि बढाउन सक्दैन।’

उनले एमाले पार्टीमा जानु भनेको ओलीकरण हुनु भएको टिप्पणी गरे। ‘एमालेमा जानु ओलीकरण हुनु हो। ओलीकरण गर्ने भनेको वाम आन्दोलन, समाजवाद र समृद्धिको दिशातर्फ होइन, ओलीजी छँदासम्म उहाँले सत्ताको भोग गर्ने मात्रै हो,’ महासचिव भुसालले भने, ‘त्यसअर्थ एमालेमा जानु समाधान होइन।’
उनले एमालेको नवौँ महाधिवेशनका बेला बनाइएको ‘सुखी नेपाल, समृद्ध नेपाल’को नारा नै ओलीले बिर्सेको आरोप लगाए। उनले कृषिको विकास गर्दै रोजगारी सिर्जना गर्न छाडेर ओली भ्यू टावर बनाउनतिर लागेको पनि बताए। यसका साथै महासचिव भुसालले ओलीले पानी जहाज र रेलाका दन्ते कथा सुनाउँदै हिँडेको पनि आरोप लगाए। उनले आफ्नो पार्टीले तत्काल नेकपा(माओवादी केन्द्र)सँग पनि एकता नगर्ने प्रस्ट पारे।