Radio Unity 92.2MHz

डडेल्धुरामा सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा कडाइ गरिने

डडेल्धुरा: डडेल्धुरामा सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा कडाइ गरिने भएको छ। स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सुर्तीजन्य पदार्थ र मदिरा नियमन तथा नियन्त्रणका लागि बसेको समन्वय बैठकले जिल्लामा बिक्रीवितरणमा कडाइ गर्ने निर्णय गरेको हो।

सार्वजनिक क्षेत्रमा खुल्ला रूपमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण हुने गरेको जनगुनासो बढ्दै गएको छ। त्यसको नियन्त्रणका लागि समिति गठन गर्ने पनि निर्णय गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउदले जानकारी दिए।

उनका अनुसार प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अस्पताल र विद्यालयका एक सय मिटर दूरीसम्मको स्थानमा अनुमन गर्ने निर्णय भएको छ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन, २०६८ मा सार्वजनिक स्थलमा कसैले धूम्रपान गर्न नपाइने, १८ वर्षमुनिका व्यक्तिले बेचबिखन गर्न नपाउने, चुरोट बट्टामा मात्र बिक्री वितरण गर्नुपर्ने, सार्वजनिक स्थलभन्दा एकसय मिटर टाढा मात्र सुर्तीजन्य पदार्थको बिक्री गर्नुपर्ने, सुर्तीजन्य पदार्थको सचेतनामूलक सूचना हरेक संस्थाले कार्यालयमा टाँस गर्नुपर्ने व्यवस्था गरेको छ। तर सार्वजनिकस्थलमै राखेर सुर्तीजन्य पदार्थ बिक्री हुने गरेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले नियमनमा कडाइ गर्ने तयारी गरेको हो।

यसका साथै एनेले राज्यका निकाय, स्वास्थ्य संस्था, शिक्षण संस्था, विमान तथा विमानस्थल, सार्वजनिक सवारी, उद्योग तथा कलकारखाना, होटेल, रेष्टुरेण्ट, चलचित्र, नाट्यशाला, खेलकुद क्षेत्र, डिपार्टमेन्ट स्टोर, मिनी मार्केक र धार्मिकस्थल, टिकट काउन्टरजस्ता धेरै मानिसहरू कार्य गर्ने जम्मा हुने कुनै पनि सार्वजनिक स्थलहरूमा धुम्रपान तथा सूर्ति सेवन गर्न नपाइने व्यवस्था गरेको छ। तर, डडेल्धुरामा त्यसको कार्यान्वयन भने हुन सकेको छैन।

जिल्लामा विद्यालय तथा अस्पताल नजिकैका पसलहरूमा खुलेआम रूपमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण भइरहेको छ। जिल्लामा सुर्तीजन्य पदार्थ नियन्त्रण निरीक्षकको रूपमा सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रहन्छन्।

नेपालमा बर्सेनि करिब ३९ हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थ सेवनका कारण हुने गरेको स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक भवानसिंह कुँवरले जानकारी दिए।

सुर्तीजन्य पदार्थको सेवनबाट मुख तथा फोक्सोको क्यान्सर, मुटु रोग, दम, नसाको रोग, श्वास नलीको सङ्क्रमण र क्षयरोगजस्ता घातक रोग लाग्छन्। यी रोग बढ्दै गएपछि मानिसको मृत्युसमेत हुने गरेको कुँवरले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...