डडेल्धुरा: डडेल्धुरामा यसवर्षको मनसुनबाट साढे २९ हजार बढी नागरिक प्रभावित हुने तथ्यांक सार्वजनिक भएको छ। मनसुन पूर्वतयारी तथा प्रतिकार्य जिल्ला कार्ययोजना–२०८२ अनुसार डडेल्धुरामा मनसुनबाट २९ हजार ५९३ जनसंख्या प्रभावित हुने आकलन गरिएको हो।
बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत द्वारिका ओझाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य जिल्ला कार्ययोजना प्रस्तुत गरेकी थिइन्।

यसवर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने र क्षति पुग्ने पूर्वानुमान गरिएअनुसार पूर्वतयारीका लागि सोहीअनुरूप कार्ययोजना पारित गरिएको उनले बताइन्। जिल्लाका सातै स्थानीय तह विपद्को जोखिममा रहेपनि परशुराम नगरपालिका र आलिताल गाउँपालिका उच्च जोखिममा रहेको उनले जानकारी दिइन्। त्यस क्षेत्रमा अन्य पालिकाभन्दा बढी बाढी र पहिरोको जोखिम रहेको बताइन्छ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति संयोजक चोमेन्द्र न्यौपानले विपद्जन्य घट्ना तथा सो बाट प्रवाभितहरूको उद्धार, राहत र पुनःस्थापनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए। विपद् व्यवस्थापनका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँग भएका विपद् खोज तथा उद्धार सामग्रीहरू चुस्तदुरुस्त राख्न निर्देशन पनि दिए।
अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ ले आफ्नो पालिकाले पनि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना बनाएर काम गरिरहेको बताए। उनले पालिकामा रहेका एम्बुलेन्स, जेसिबीलगायतका मेसिन तयारी अवस्थामा राखिएको बताए।

जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले ठूलो विपद्लाई पनि सामना गर्नका लागि पूर्वतयारी भएर बस्नुपर्ने बताए। विपद् नआउने गरेर विकास निर्माणका कामलाई अघि बढाउनुपर्नेमा उनको जोड थियो।