Radio Unity 92.2MHz

पाली मृत्यु प्रकरण : डडेल्धुरा उद्योग वाणिज्य संघद्वारा दोषीलाई कारबाहीको माग

डडेल्धुरा: जिल्ला कारागार कैलालीमा डडेल्धुराका व्यवसायी हरिसिंह पालीको मृत्यु भएको घटनालाई लिएर डडेल्धुरा उद्योग वाणिज्य संघले गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ।

बुधबार उद्योग वाणिज्य संघले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेमार्फत् गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षणपत्र पठाएको हो। संघका कार्यवहाक अध्यक्ष दीपकबहादुर महताको नेतृत्वमा बुझाइएको सो पत्रमा पालीलाई कुटपिट गरी हत्या गरिएको गम्भीर आरोप लगाइएको छ।

घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कानुनी कारबाहीको माग पनि संघले गरेको छ। ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘पालीलाई चार दिनसम्म गैरकानुनी रूपमा प्रहरी नियन्त्रणमा राखी शारीरिक तथा मानसिक यातना दिइएको थियो। उनको मृत्यु प्रहरी यातनाकै कारण भएको स्पष्ट देखिन्छ। दोषी प्रहरी नायब निरीक्षक हरजित नाथलगायतलाई तत्काल कारबाहीको दायरामा ल्याइनुपर्छ।’

भागेश्वर गाउँपालिका–५ स्थायी घर भई अमरगढी नगरपालिका–५ मा बसोबास गर्दै आएका पालीलाई बैंकिङ्ग कसुरअन्तर्गत जिल्ला अदालत कैलालीले १० दिन कैद र दुई लाख जरिवाना तोकेपछि प्रहरीले पक्राउ गरेको थियो। तर, पक्राउपछि केही दिनमै कारागारभित्रै उनको मृत्यु भएपछि घटनाले रहस्यपूर्ण मोड लिएको छ।

घटनापछि डडेल्धुराको बजार र यातायात सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघ, बैंकर संघ, नागरिक समाज र अन्य सरोकारवाला निकायहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन्।

संघसंस्थाले दोषीमाथि कडा कारबाही, स्वतन्त्र छानबिन र पिडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। साथै, माग सुनुवाइ नभए उत्पन्न हुने सबै प्रकारका क्षतिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले भने पालीको मृत्यु स्वास्थ्य समस्याका कारण भएको दाबी गरेका छन्। मृतकका आफन्तले भने पालीको शरीरभर निलडाम देखिएको र प्रहरी हिरासतमा यातना दिइएको दाबी गरेका छन्।

हेर्नुस् ध्यानाकर्षणपत्र–

सम्बन्धित पाेष्टहरु
Loading...