Radio Unity 92.2MHz

कैलालीमा कैदीबन्दी मृत्यु प्रकरण : प्रहरी सई नाथ पक्राउ

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिसिंह पालीको मृत्यु घटनाको अनुसन्धानका लागि सई नाथलाई पक्राउ गरिएको हो।

नाथविरुद्व किटानी जाहेरी आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। जाहेरी दर्ता भइसकेको र अब शव परीक्षण गरेर परिवारलाई बुझाउने तयारी रहेको उनले बताए।

मृतक पाली दोषी ठहर भएको बैंकिङ कसुर मुद्दा प्रहरीका सई नाथले नै दिएका थिए। नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २९ फागुन २०८० मा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो।

बैंकिङ कसुरमा दोषी ठहर भएका पालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पालीलाई २९ जेठमा पक्राउ गरेको थियो। डडेल्धुरा प्रहरीले एक दिन थुनामा राखेर ३० जेठमा कैलाली प्रहरीलाई बुझाएको थियो। कैलाली प्रहरीले भने १ असारमा मात्रै पालीलाई कैलाली कारागारमा बुझाएको थियो।

कारागार चलान भएको दोस्रो दिन नै पालीको मृत्यु भएपछि आफन्तले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन्। मृतक पालीकी श्रीमती जानकीले दिएको जाहेरीमा आफ्ना श्रीमानमाथि सई पालकै योजनामा कुटपिट गरेर हत्या गरिएको दाबी गरिएको छ।

घटनाको छानबिनका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...