Radio Unity 92.2MHz

आलिताल गाउँपालिकाले ल्यायो ५३ करोड २७ लाखको बजेट

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड २७ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ। गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावलले आगामी आर्थिक वर्षका लागि उक्त बजेट गाउँसभाको २०औँ अधिवेशमा सो बजेट प्रस्तुत गरेकी हुन्।

जसमध्ये चालुतर्फ ३१ करोड २० लाख २५ हजार र पूँजीगततर्फ २२ करोड ६ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ। प्रस्तावित कुल बजेटमध्ये ३१ करोड २० लाख २५ हजार रुपैयाँ चालु खर्चका लागि छुट्याइएको छ भने २२ करोड ६ लाख ७० हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।

चालुतर्फ ५८.५७ प्रतिशत र पुँजीगततर्फ ४१.४३ प्रतिशत खर्च विनियोजन गरिएको यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ४.६६ प्रतिशतले बढी हो। उक्त बजेट कार्यान्वयनका लागि आवश्यक स्रोतमध्ये संघीय सरकारबाट समानीकरण ९ करोड ७ लाख, सशर्तबाट १७ करोड ९० लाख, विशेष अनुदानतर्फ ५ करोड ५७ लाख र राजस्व बाँडफाँटबाट ११ करोड ४९ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारबाट शशर्त अनुदानबाट ३ करोड ८० लाख, विशेष अनुदानबाट ७५ लाख, सम्पुरक अनुदानबाट ९४ लाख समानिकरण अनुदानबाट ७७ लाख ९३ हजार, प्रदेश राजस्व बाँडफाँडबाट ३२ लाख १ हजार प्राप्त हुने जनाइएको छ। त्यस्तै, गाउँपालिकाको आन्तरिक स्रोतबाट १ करोड ४५ लाख रुपैयाँ संकलन गरिने लक्ष्य लिइएको छ।

उपाध्यक्ष बोहराले गाउँसभामा प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, सेवा प्रवाह, ऊर्जा व्यवस्थापन, सांस्कृतिक प्रवर्द्धन, प्रशासनिक सुधार, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सुरक्षालगायतका विविध कार्यक्रम समेटिएका छन्।

बजेटमा धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, ऐतिहासिक मन्दिरको संरक्षण तथा सम्बर्द्धनका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। पर्यटकीय सम्भावना भएका स्थलहरूको प्रवर्द्धन, स्थानीय कला, भेषभूषा र सांस्कृतिक विविधताहरूलाई दस्तावेजीकरण गर्दै सम्बद्ध संरचना निर्माणका लागि रकम विनियोजन गरिएको छ।

सडक पूर्वाधार सुधारका लागि सबै वडामा ट्र्याक खोल्ने, स्तरोन्नति गर्ने तथा नियमित मर्मतसम्भारका कामलाई प्राथमिकतामा राखिएको छ। दुर्गम क्षेत्रमा यातायात सहज बनाउन विशेष योजना ल्याइने जनाइएको छ।

ऊर्जा क्षेत्रमा वैकल्पिक ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्दै सौर्य प्रणाली, लघु जलविद्युत्, गोबरग्याँस जस्ता योजना सञ्चालन गरिनेछ। सार्वजनिक भवन निर्माण अन्तर्गत गाउँपालिकाको प्रशासनिक भवन, वडा कार्यालय भवनलगायत संरचनाहरूको निर्माण तथा मर्मतका लागि आवश्यक बजेट छुट्याइएको छ।

नविनीयन प्रविधिको प्रयोग गर्दै बस्तीको उज्यालो कायम राख्ने, विद्युत् सशक्तिकरण तथा बैकल्पिक उपायमार्फत ऊर्जा आपूर्ति सुनिश्चित गरिने जनाइएको छ। त्यस्तै, वन संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्न आवश्यक कार्यक्रमहरू लागू गरिने बताइन्छ। वडागत योजना तथा कार्यक्रम अन्तर्गत ८ वटै वडामा प्रशासनिक तथा पुँजीगत कार्यक्रमका लागि झण्डै ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

शिक्षा, युवा, स्वास्थ्य, कृषि, रोजगारी, महिला तथा बालबालिकाको सशक्तिकरण, सामाजिक सुरक्षालगायत विभिन्न शाखाहरूको योजनाहरूलाई निरन्तरता दिँदै कार्यक्रम लागू गरिने जनाइएको छ। गाउँपालिकाको समग्र आकांक्षा र आवश्यकताको सम्बोधन गर्ने खालका योजनाहरूलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...