डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ सकायलस्थित जनता माध्यमिक विद्यालयले जिल्लामै उत्कृष्ट जिल्लामै नतिजा ल्याउन सफल भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार साँझ सार्वजनिक गरेको एसईई २०८१ को नतिजाअनुसार सामुदायिक विद्यालयतर्फ जनता माविले जिल्लामै उत्कृष्ट नतिजा ल्याउँदै पहिलो भएको हो।
शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका अनुसार जनता माविका ७२.२२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। सो विद्यालयबाट ३६ जना विद्यार्थी सहभागी भएकोमा २६ जना ग्रेडेड भएका छन्।
उत्कृष्ट नतिजा ल्याउने मामलामा सामुदायिक विद्यालयतर्फ भागेश्वर गाउँपालिका–५ रुपालीगाडमा रहेको शिवशंकर मावि दोस्रो भएको छ। उक्त विद्यालयबाट ८ जना विद्यार्थीले परीक्षा दिएकोमा ५ जना अर्थात् ६२.५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
गन्यापधुरा गाउँपालिका–१ भात्काँडाको सरस्वती मावि तेस्रो भएको छ। उक्त विद्यालयबाट एसईई परीक्षामा २१ जना विद्यार्थी सहभागी भएकामा १२ जना अर्थात् ५७.१४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराले जनाएको छ।
संस्थागत विद्यालयतर्फ अमरगढी नगरपालिका–५ खलंगास्थित क्याम्ब्रिज पब्लिक स्कुल जिल्लामै उत्कृष्ट नतिजा ल्याएको छ। सो विद्यालयका ८३.३३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।