Radio Unity 92.2MHz

अमरगढीमा सामुदायिक विद्यालय र सरोकारवालाहरूबीच एकदिने अन्तरक्रिया

डडेल्धुरा: अमरगढी नगरपालिकामा सामुदायिक विद्यालय र सरोकारवालाहरूबीच एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा उक्त एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

व्यवस्थापन सन्दर्भमा सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अभिभावक संघका अध्यक्ष, अभिभावक, विद्यार्थीलगायत सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो।

शैक्षिक सुधार गरी गुणस्तरीय शिक्षणकाका साथै समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन भएको कार्यालयका निमित्त प्रमुख राधाकृष्ण जोशीले जानकारी दिए। पालिका भित्र रहेका सामुदायिक विद्यालयमा शैक्षिक सुधार र शैक्षिक एकरूपता कायम गर्ने कुरामा सबैले जोड दिइएको छ।

अमरगढी नगरपालिकामा सामुदायिकतर्फ २७ वटा विद्यालय रहेका छन् । अन्तरक्रिया कार्यक्रममा उपस्थित प्रध्यानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरूले पालिकाले विद्यालयको नियमित अनुगमनको आवश्यकता औल्याउदै कर्मचारीको व्यवस्था र नयाँ प्रविधिबाट शिक्षा अवलम्बन गर्नुपर्नेमा जोड दिए।

नगरपालिकले दीर्घकालीन योजना बनाएर शिक्षा क्षेत्रको सुधारका लागि अगाडि बढ्नुपर्ने धारणा राखे। नेपालको व्यवस्था परिवर्तन भएपनि शिक्षा क्षेत्रमा पुरानै शिक्षण प्रणाली रहेकोमा सहभागीहरूले दुःख व्यक्त गरेका छन्।

नयाँ शिक्षा ऐन आएपनि विधि र प्रक्रिया परिवर्तन नहुँदा शिक्षा समयसापेक्ष हुन नसकेको धारणा सहभागीहरूको थियो। विद्यालयको अनुगमन पालिकास्तरबाटै भएमा विद्यालयको गुणस्तर अभिवृद्धि हुने बताउँदै नियमन र अनुगमन चुस्त दुरूस्त नभएमा झनै खस्कने धारणासमेत राखेका थिए।

उनीहरूले शिक्षाको गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थी सक्रिय हुनुपर्ने बताएका छन्। विभिन्न विद्यालयबाट आएका शिक्षाकहरूले शिक्षा सुधारका लागि आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले शिक्षामा हुनुपर्ने गुणस्तरीय काम गर्न सबैलाई आग्रह गरे।

यस्तै अमरगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तले समग्र पालिकाको शैक्षिक अवस्थाबारे प्रष्ट परेका थिए। यसका साथै जिल्लाको समग्र शिक्षाकाे अवस्था र एसईई नतिजाबारे शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खडकबहादुर महताले प्रष्ट पर्दै आगमी वर्ष अहिलेकाे तुलना थप राम्रो गरेर यो भन्दा राम्रो रिजल्ट ल्याउने प्रतिबद्धता व्यक्त गरे।

यस्तै शिक्षामा अनिवर्य तथा नि: शुल्का शिक्षासमबन्धी ऐन, राज्यको दायित्व, शिक्षासम्बन्धी नियमावली र यसमा भएका व्यवस्थाबारे पनि कार्यक्रममा जानकारी गराइएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...