Radio Unity 92.2MHz

भीमदत्त राजमार्गको दूर्दशा : समयमै मर्मत नहुँदा हिलाम्य, यात्रुलाई सास्ती

डडेल्धुरा: भीमदत्त राजमार्ग सूदूरपश्चिम प्रदेशको प्रमुख राजमार्ग हो। यो राजमार्गले तराईका दुई जिल्लालाई पहाडी ७ जिल्लासँग जोड्ने गर्दछ। तर पछिल्लो समय सडकमा भएका खाल्डा खुल्डी र त्यसै माथि निर्माण कम्पनीले सडक मर्मत गर्ने नाममा गरेको ढिलाइले यो राजमार्ग भएर यात्रा गर्न निकै जोखिम बढेको छ।

राजमार्गअन्र्तगत कैलालीको बुढीतोला क्षेत्र र डडेल्धुराको हगुल्टेलेक क्षेत्रमा सडक मर्मतका लागि ठेकेदार कम्पनीले पुरानो भएको सडक खनेको र नयाँ ग्रावेलसमेत नहालेपछि सवारी आवागनमा समस्या हुने गरेको छ।

साना तथा मालवाहक यातायातका साधनहरूलाई यो सडक खण्डमा निकै समस्या हुने गरेको सावरी चालक बताउँछन्। डडेल्धुराअन्र्तगत पर्ने मेलखर्कदेखि साहुँखर्कसम्मको हगुल्टे लेकको सडक मर्मत नहुँदा यात्रु तथा सवारी चालकहरूले समस्या भोग्नुपरेको सवारी चालक रमेश अवस्थीले बताए।

उनले भने,‘सडक मर्मतका लागि भएको सडक पनि खनियो तर नयाँ ग्रावेल समेत नहाल्दा पानी परेको बेला निकै समस्या हुन्छ।’ बर्षदको समयमा पानी परेपछि सवारी साधनहरूसमेत जोखिममा परिरहेका छन्। सडकका ठाउँ–ठाउँमा परेका खाल्टामा पानी जमेको छ भने मर्मतका नाममा सडक खन्दा यतिबेला हिलाम्य भएर सवारी चलाउन समस्या हुने गरेको सवारी चालक करन दियालले बताए।

सडक डिभिजन कार्यालय कुलपाते डोटीको क्षेत्रभित्र पर्ने यस सडकको मर्मतका लागि दुईचोटी टेण्डर भएर काम अगाडि बढेको भएपनि निर्माण कम्पनीले समयमा काम नगरेका कारण यात्रुहरूले समस्या भोगिरहेका हुन्।

तराईका दुई जिल्लालाई पहाडी सात जिल्लासँग जोड्ने प्रमुख राजमार्गका रूपमा रहेको भीमदत्त राजमार्गको समयमै मर्मत हुन नसक्दा निकै समस्या भएको गुनासो आएपछि सडक डिभिजन कार्यालयले अनुगमन गरि ग्रावेल हाल्न लगाएको सडक डिभिजन कार्यालय कुलपातेका कार्यालय प्रमुख रमेश भट्टराईले बताए।

निर्माण कम्पनीले समयमा काम गर्न नसक्दा उत्पन्न समस्याको सामाधानका लागि प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ। सडक डिभिजन कार्यालयका प्रमुखलाई मुख्यराजमार्गमा भएको समस्याको सामाधान गर्न समन्वय गरेकोमा केही काम भएको र बाँकी क्षेत्रमा समेत तत्काल काम हुने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

काम लिने तर समयमै काम नगर्ने प्रवृतिले आम सर्वसाधारण मारमा परिरहेका हुन्छन्। यसरी सडक मर्मतमा भएको ढिलाइप्रति सम्बन्धित निर्माण कम्पनी जिम्मेवार हुनुका साथै सडक डिभिजन कार्यालय कुलपाते डोटीको निरन्तर खबरदारी आवश्यक छ।

     

सम्बन्धित पाेष्टहरु
Loading...