डडेल्धुरा: डडेल्धुरामा जारी मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा ८ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
जिल्ला खेलकुद समितिको आयोजनामा समितिकै कभर्डहलमा भइरहेको प्रतियोगितामा चार समूहमा विभाजन गरी खेलाइएको प्रतिस्पर्धाबाट प्रत्येक समूहका विजेता र उपविजेता टिम क्वाटरफाइनलमा पुगेका हुन्।
समूह ‘ए’ बाट खगेन्द्र बुढाऐर–ऐन बमको टिम विजेता र मनीष जोशी–नरेश ऐरको जोडी उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका छन्। समूह ‘बी’ बाट योगेश बोहरा–भरत ऐरको टिम विजेता तथा टेक खड्का–डम्बर ऐरको टिम उपविजेता बनेर अन्तिम आठमा पुगेका छन्।
यस्तै, समूह ‘सी’ बाट हरिओम केसी–निरज मल्ल विजेता र दीपेन्द्र खड्का–बाबुराम श्रेष्ठको जोडी उपविजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन्। समूह ‘डी’ बाट ललित बोहरा–हरिष खड्का विजेता तथा गणेश बिष्ट–प्रकाश पार्कीको टिम उपविजेता बनेर क्वाटरफाइनलमा पुगेका छन्। अन्य आठ टिम भने समूह चरणबाटै बाहिरिएका छन्।
शनिबार भएको उद्घाटन समारोहमा गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले प्रतियोगिताको उद्घाटन गरेका थिए। उनले जिल्ला खेलकुद समितिले खेलकुद क्षेत्रको विकासका लागि गरेको प्रयासको प्रशंसा गर्दै खेलकुदलाई व्यवसाय र पर्यटनसँग जोड्नुपर्ने बताए।
युवामा सकारात्मक सोचको विकासका लागि खेलकुद महत्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष कार्कीले स्थानीय तहमा पनि यस्ता प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए।
जिल्ला खेलकुद समितिका अध्यक्ष जगतबहादुर ऐरले आर्थिक अभावका बीच पनि प्रतियोगिता आयोजना गरिएको बताए। प्रतियोगिताको श्रेय सबैको सहयोगलाई जाने उल्लेख गर्दै उनले ब्याडमिन्टनसँगै आगामी दिनमा जिल्लामा भलिबल, क्रिकेटलगायतका प्रतियोगिता आयोजना गर्ने योजना रहेको बताए। उनले यस्ता प्रतियोगिता सञ्चालनका लागि स्थानीय तहहरूको सहयोग आवश्यक रहेको समेत बताए।
प्रतियोगिताले जिल्लामा ब्याडमिन्टन खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलाडीबीच आपसी भाइचारा र मित्रता कायम गर्न सहयोग पुग्ने आयोजकको भनाइ छ।
प्रतियोगिताका क्वाटरफाइनल खेल आइतबार बिहान ७ बजेदेखि सुरु हुनेछन्। प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।




