डडेल्धुरा: डडेल्धुरा अस्पतालमा एकैपटक ९ जना डाक्टर थपिएका छन्। उनीहरू छात्रवृत्ति करारमा आएका सेवा गर्न यहाँ आएका हुन्।
छात्रवृत्ति सेवाअन्तर्गत डडेल्धुरा अस्पतालमा आएका चिकित्सकहरूमा डा. प्रचण्ड पौडेल (मेडिकल जनरलिस्ट), डाक्टर कमल कार्की (गाइनोकोलोजिस्ट), डा. निभा शर्मा (गाइनोकोलोजिस्ट), डा. विवश श्रेष्ठ (जनरल सर्जन), डा. विवेक रेग्मी (साइक्याट्रिक), डा. सन्तोषकुमार गोइत (प्याथोलोजिष्ट), डा. पंकज ढुङ्गाना (एनेस्थेसिलोजिस्ट), डा. अनिलकुमार रावत (अर्थोपेडिक सर्जन), डा. अन्जन ध्वज लामा (अर्थोपेडिक सर्जन) रहेका छन्।
त्यस्तै, नर्सिङ अधिकृत नाओमी बुढा, स्टाफ नर्सद्वय छायाँ चन्द र रजनी चन्द पनि छात्रवृत्ति करारमार्फत अस्पतालमा हाजिर भएका छन्।
विशेषज्ञ चिकित्सक तथा नर्सहरूलाई आज एक कार्यक्रमबीच स्वागत पनि गरिएको छ। अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझा र प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नरेन्द्रकुमार खनालको उपस्थितिमा नयाँ आएका स्वास्थ्यकर्मीहरूको स्वागत गरिएको हो।
अध्यक्ष ओझाले डडेल्धुरा अस्पतालमा विशेषज्ञ चिकित्सकको उपस्थिति हुनु उल्लेखनीय उपलब्धि भएको बताए।
उनले जनताको सहज र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न यस्ता स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
अस्पतालका प्रमुख मेसु खनालले स्वास्थ्यकर्मीको आगमनसँगै अस्पतालको सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे।
डडेल्धुरा अस्पतालले लामो समयदेखि दरबन्दीअनुसार विशेषज्ञ पाएको छैन। छात्रवृत्ति र करारका चिकित्सकहरूले नै सेवा प्रवाह गरिरहेका छन्।