Radio Unity 92.2MHz

डडेल्धुरा अस्पताललाई स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुबाट हटाइयो, चौतर्फी विरोध

डडेल्धुरा: स्वास्थ्य बीमा बोर्डले डडेल्धुरा अस्पताललाई स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुबाट हटाएको छ। बोर्डले अस्पताललाई साउन १ गतेदेखि लागू हुने बीमाको प्रथम सेवा विन्दुबाट हटाएको हो।

अबदेखि सिधा सेवा दिने केन्द्रबाट हटाउँदै रेफरल अस्पतालका रूपमा सीमित गरेपछि जिल्लाका हजारौं बीमित नागरिक थप मर्कामा पर्ने भएका छन्। बीमितहरू मार्कामा पर्ने भएसँगै यस निर्णयको चौतर्फी विरोध भइरहेको छ। साउन १ गतेदेखि लागू हुने निर्णयअनुसार बीमित सेवाग्राहीले सिधै डडेल्धुरा अस्पतालमा सेवा पाउने छैनन्।

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्रकुमार खनालले सार्वजनिक गरेको सूचनामा साउन १ गतेदेखि बीमाको प्रथम सेवा विन्दुको रूपमा सेवा बन्द गरिने उल्लेख छ।

सूचना अनुसार अबदेखि डडेल्धुरा अस्पतालमा सिधै गएर बीमाको सेवा लिन नमिल्ने भएको छ। सेवा लिन चाहने बीमितहरूले स्थानीय तहका सूचिकृत स्वास्थ्य संस्थाबाट रेफरल सिफारिस अनिवार्य रूपमा लिएर जानुपर्नेछ।

तर हाल परशुराम नगरपालिकास्थित जोगबुढा अस्पतालबाहेक अन्य ६ स्थानीय तहमा कुनै पनि सूचीकृत प्रथम सेवा विन्दु नरहेकाले ती ठाउँका बासिन्दाहरू बीमा सेवा लिनबाट बञ्चित हुने भएका हुन्।

स्वास्थ्य बीमा कार्यालय डडेल्धुराका दर्ता अधिकारी दीपक धामीका अनुसार यो निर्णय एक्कासि आएको र अझै स्पष्टता नआएकाले प्रदेश सरकारसँग छलफल भइरहेको छ। जिल्लामा हाल ३२ हजार ९८४ जना नागरिक बीमामा आवद्ध रहेको दर्ता अधिकारी धामीले जानकारी दिए।

बीमा बोर्डको सो निर्णयले अस्पतालमा उपचार गराउँदै आएका हजारौं बीमित नागरिक अन्योलमा परेका छन्। विशेषगरी दुर्गम गाउँबाट आउने बिरामीहरूलाई अब नजिकको अस्पतालमा जान तथा त्यहाँबाट रेफरल सिफारिस ल्याउन र फेरि डडेल्धुरा आउनुपर्ने बाध्यता आइलाग्नेछ।

डडेल्धुरा अस्पताललाई पुनः प्रथम सेवा विन्दु कायम गर्न आग्रह

अस्पताल प्रशासनले डडेल्धुरा अस्पताललाई पुनः प्रथम सेवा विन्दु कायम गर्न आग्रह आग्रह गरेको छ। स्वास्थ्य बीमा बोर्ड बबरमहल, काठमाडौंलाई पत्र लेख्दै निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्रकुमार खनालले निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन्।

‘डडेल्धुरा अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा विन्दुको रूपमा सेवा प्रदान गर्दै आइरहेकोमा हालसालै उक्त सेवा विन्दुबाट हटाइएको जानकारी प्राप्त भएको छ। यसबाट सेवा प्रवाहमा अवरोध पर्नुका साथै बीमित सेवाग्राहीहरू मर्कामा परेका छन्,’ उक्त पत्रमा भनिएको छ, ‘डडेल्धुरा अस्पताल सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण स्वास्थ्य संस्था भएको र जिल्ला सदरमुकाममा अरु कुनै सरकारी अस्पताल नभएको अवस्थामा यहाँका स्थानीयलाई प्रथम सेवा विन्दुबाट सेवा लिन निकै टाढा पर्ने भएकोले साथै सेवा उपभोगकर्ताको संख्यामा समेत उल्लेखनीय वृद्वि भईरहेको अवस्थामा यसलाई प्रथम सेवा विन्दुबाट हटाइनु उपयुक्त नदेखिएकाले उक्त निर्णय पुनर्विचार गरी यस अस्पताललाई यथाशीघ्र प्रथम सेवा विन्दुमा पुनः कायम गरिदिनुहुन अनुरोध छ।’

 

सम्बन्धित पाेष्टहरु
Loading...