Radio Unity 92.2MHz

रंगुन नदीले बगाउँदै गरेका युवकको सकुशल उद्धार

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित रंगुन नदीले बगाउँदै गरेको अवस्थामा एक युवकको सकुशल उद्धार गरिएको छ।

मंगलबार साँझ स्थानीय अन्दाजी २८ वर्षीय तारा धामीलाई रंगुन खोलाले करिब सात सय मिटर तलसम्म बगाएपछि प्रहरी टोलीले उनको उद्धार गरेको हो। आलिताल-८ स्थित घुम्ती बजारदेखि घर जाने क्रममा उनलाई रंगुन नदीले बगाएको थियो।

घटनाबारे सूचना पाएलगत्तै प्रहरी चौकी आलितालबाट प्रहरी सहायक निरीक्षक धनसिंह धामी नेतृत्वको टोली उद्धारका लागि खटिएको थियो। उक्त टोलीले मंगलबार साँझ ६:१५ बजेतिर धामीलाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरीका अनुसार उद्धार कार्यमा प्रहरी जवान विशाल भट्टसहित स्थानीयवासीको समेत सहयोग थियो। धामीको खुट्टामा सामान्य चोट लागेको बताइन्छ।

सम्बन्धित पाेष्टहरु
Loading...