डडेल्धुरा: जिल्ला सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालले पहिलोपटक एघारौँ तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पाउने भएको छ।
डडेल्धुरा अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको रूपमा डा सुधा देवकोटा आउने भएकी छन्। स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखामा निर्देशक रहेकी देवकोटालाई मंगलबार स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डडेल्धुरा अस्पतालमा पठाउने निर्णय गरेका हुन्।
मन्त्रालयको पछिल्लो निर्णयपछि डडेल्धुरा अस्पतालले एघारौँ तहको सबैभन्दा वरिष्ठ चिकित्सक प्रमुखको रूपमा पाउने निश्चित जस्तै भएको हो।
डा देवकोटा महाशाखामा गत वर्षको असोजमा निर्देशक भएर आएकी थिइन्। त्यसअघि उनी कोशी प्रदेशको स्वास्थ्य सचिव थिइन्। डडेल्धुरा अस्पतालमा एघारौँ तहको चिकित्सक प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हुने प्रावधान छ।
तर अहिलेसम्म एक जना पनि एघारौँ तहको चिकित्सक सो पद सम्हाल्न यहाँ आइपुगेका छैनन्। आठौँ, नवौँ र दशौँ तहका चिकित्सकले निमित्त प्रमेसुको रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन्।
हाल अस्पतालमा दशौँ तहका डा नरेन्द्रकुमार खनालले निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालिरहेका छन्।
डा देवकोटा १२औँ तह (अतिरिक्त सचिव) पदका लागि प्रतिस्पर्धामा उत्रिएर बढुवाका लागि सिफारिसमा समेत परेकी चिकित्सक हुन्।
एघारौं तहको कार्यालय प्रमुख आउने निश्चित भएसँगै अस्पतालको प्रशासनिक तथा सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ। डडेल्धुरा अस्पताल संघीय सरकार मातहतमा रहेको सुदूर पहाडको एकमात्र अस्पताल हो। तर अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक भने अझै पदपूर्ति हुन सकेका छैनन्।