डडेल्धुरा: स्वास्थ्य बीमा बोर्डले डडेल्धुरा अस्पताललाई आगामी असोज मसान्तसम्म ‘प्रथम सेवा विन्दु’ का रूपमा सेवा दिन अनुमति दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार बोर्डले यसअघि हटाइएको प्रथम सेवा विन्दुको सुविधा फेरि बहाल गर्ने निर्णय गरेको हो। यसअघि बोर्डले २०८२ साउन १ गतेदेखि रेफरल अस्पतालले प्रथम सेवा विन्दुको रूपमा काम गर्न नपाउने भन्दै पत्राचार गरेको थियो।
डडेल्धुरा अस्पतालबाट सेवा विन्दु हटाउने निर्णयपछि सामाजिक सञ्जालदेखि नागरिक तहसम्म विरोध चर्किएको थियो। स्थानीय तह र सेवाग्राहीको चर्को विरोधपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रको आधारमा बोर्डले फेरि असोज मसान्तसम्मका लागि सेवा निरन्तर गर्ने निर्णय गरेको हो।
बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लका अनुसार डडेल्धुरा अस्पताललाई असोज मसान्तसम्म प्रथम सेवा विन्दुको रूपमा काम गर्न सक्ने गरी पत्राचार गरिएको छ। डडेल्धुरा अस्पतालले स्वास्थ्य बीमित नागरिकलाई पहिलो चरणमा सेवा दिने र आवश्यक परेमा रिफरलमार्फत अन्य अस्पतालमा सिफारिस पनि गर्न सक्नेछ।
साथै, स्थानीय तहहरुलाई चाँडोभन्दा चाँडो छुट्टै प्रथम सेवा विन्दुका रूपमा अस्पताल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ।
