Radio Unity 92.2MHz

डडेल्धुरामा श्रीमतीको हत्या गरी भाग्दै गरेका करन पक्राउ

डडेल्धुरा: डडेल्धुरामा श्रीमतीको हत्या गरी भाग्दै गरेका श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गन्यापधुरा गाउँपालिका-३ डिल बस्ने ५४ वर्षीय करन भुल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बिहीबार राति साढे ११ बजेतिर उनले आफ्नै घरमा श्रीमती ४० वर्षीया खिमादेवी भुलको हँसियाले घाँटीमा प्रहार गरी हत्या गरेका थिए।

हत्या लगत्तै फरार भएका करनलाई शुक्रबार बिहान ७:५५ बजे भाग्दै गरेको अवस्थामा गन्यापधुरा-३ गोयलखेतबाट पक्राउ गरिएको जिप्रका डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी डम्बर विष्टले जानकारी दिए।

‘भुल फरार रहेको भनेर आज बिहान ६:५५ बजेको समयमा खबर प्राप्त भएपछि मेरै कमाण्डमा प्रहरी टोली खेटिएको र भाग्दै गरेको अवस्थामा भुललाई समात्न सफल भयौं,’ इन्स्पेक्टर विष्टले भने, ‘गोयलखेतबाट पक्राउ गरी हिरासतमा राखिएका छौँ।’

उक्त घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको पनि उनले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...