Radio Unity 92.2MHz

डडेल्धुरा जिप दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

दुर्घटनामा परेर गम्भीर घाइते नवदुर्गा–५ का ४२ वर्षीय गणेशबहादुर साउँदको मृत्यु भएको छ। साउँदको उपचार हुन नसकेपछि डडेल्धुरा अस्पतालबाट धनगढी रेफर गरिएको थियो। उनको माया मेट्रो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको छ।

यससँगै मृतकको संख्या पाँच पुगेको हो। दुर्घटनामा परेर चारजनाको घटनास्थलमै ज्यान गएको थियो। नवदुर्गा गाउँपालिका–५ का १८ वर्षीय सुरेश साउँद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउँदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।

घाइतेहरूमध्ये तीनजनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने जिप चालक रामबहादुर साउँदलाई थप उपचारका लागि भारत लगिएको बताइन्छ।

७ वर्षीया सुस्मिता पार्कीको भने डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिप्रका डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी डम्बर विष्टले जानकारी दिए।

बिहीबार बिहान ठाँटाबजारबाट जिल्ला सदरमुकामतर्फ आँउदै गरेको उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप भित्री कच्ची सडक खण्डबाट करिब २५० मिटर तल खसेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...