Radio Unity 92.2MHz

डडेल्धुराका तीन पालिकामा नयाँ हाकिम आउँदै

डडेल्धुरा: डडेल्धुराका तीनवटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत (हाकिम) आउने भएका छन्। जिल्ला सदरमुकामको अमरगढी नगरपालिका, भित्री मधेसमा पर्ने परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा नयाँ हाकिम आउने भएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार १२२ जना उपसचिव र ९७ शाखा अधिकृतको एकैपटक सरुवा गरेको थियो।

सोहीअनुसार अमरगढी नगरपालिकामा नयाँ हाकिमको रूपमा उपसचिव नवराज ओझा आउने भएका छन्। ओझा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत कार्यरत थिए।

यसअघि अमरगढीमा लक्ष्मीप्रसाद उपाध्यायले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा काम गरिरहेका थिए।

यस्तै परशुराम नगरपालिकामा उपसचिव मोहन अर्याल आउने भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी वा अन्तर्गत कार्यरत अर्याल परशुराम आउने भएका हुन्। यसअघि परशुराममा कल्पना भट्टले हाकिमका रूपमा कामकाज गरिरहेकी थिइन्।

आलिताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा दीपेन्द्रराज अधिकारी आउने भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत कार्यालयमा कार्यरत अधिकारी आलितालको हाकिमको रूपमा आउने भएका हुन्।

हालै आलितालका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नाको सरुवा भएको थियो। उनको ठाउँमा मन्त्रालयले अधिकारीलाई आलिताल पठाएको हो।

यससँगै डडेल्धुराका सातवटै स्थानीय तह निमित्त हाकिमविहीन भएका छन्। यहाँका सबै स्थानीय तहले पूर्ण जिम्मेवारीका प्रमुख प्रशासकीय अधिकृत पाएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...