डडेल्धुरा: नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग संयोजक नैनसिंह महरले आफ्नो पार्टी चुनावबाट नभाग्ने बताएका छन्।
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिवार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी चुनाव लड्न काँग्रेस तयार रहेको बताएका हुन्।
नेता महरले फागुन २१ गते ताकिएको निर्वाचनका लागि सरकारले सबै राजनीतिक दलहरूलाई विश्वस्त बनाउनुपर्ने धारणा राखे। उनले सरकारले आवश्यक पूर्वाधार, तयारी, जनताको मनोबल बढाउने, दलहरूसँग संवाद गर्ने र अन्तर्राष्ट्रिय जगतसँग एकखाले विश्स्ता आर्जन गर्ने कुनैपनि काममा आफूलाई बामे सार्ने काम नगरेको बताए।
उनले प्रजातन्त्रको प्राणवायु भनेको आवद्यिक निर्वाचन भएकोले काँग्रेस चुनावको वातावरण भए चुनावमा जाने पनि स्पष्ट पारे। उनले भने, ‘नेपाली काँग्रेसको केन्द्रीय कमिटिको बैठकले चुनावमा जाने निर्णय गर्छ होला। चुनाव हुन नसके संसद् पुनर्स्थापनाबाट संविधानलाई लिकमा ल्याउने काम पार्टीले गर्छ।’
आसन्न १५औं महाधिवेशन समयमै सक्ने र त्यसका लागि अपडेट गर्नुपर्ने केही कामहरू बाँकी रहेको उनको भनाइ थियो। गृहजिल्ला डडेल्धुरा पुगेका नेता महरले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको कुटपिट तथा निवासमा गरिएको आगजनीको घटनाको निन्दा गरे।
आफूहरू देउवालाई नै देखेर राजनीतिमा आएको गरेको स्मरण गर्दै उनले गुटबन्दीका पछि आफ्नो ध्यान नरहेको बताए। उनले आगामी महाधिवेशनमा महामन्त्री पदमा लड्ने तयारीमा रहेका नेता महरले पछिल्लो घटनाक्रमले आफूभन्दा माथिल्लो पदमा प्रतिस्पर्धा गर्ने संकेत गरे।
‘मैले यसअघि नै महामन्त्रीमा लड्ने घोषणा गरिसकेको थिएँ। पछिल्लो राजतीनिक घटनाक्रम हेर्दा अब म त्योभन्दा माछिल्लो पदमा लड्ने सोच बनाएको छु,’ उनले भने, ‘देउवा दाइ र आरजू भाउजूसँग पनि कुरा गर्छौँ, हामी उहाँहरूको उत्तराधिकारी हौँ। सल्लाह गरेर नै अघि बढ्छौँ,’
उनले नेपाली काँग्रेस पार्टी युवाहरूको पार्टी रहेको र अब पनि युवाकै पाटी हुने दाबी गरे। उनले आगामी चुनावमा काँग्रेसले अन्य पार्टीसँग गठबन्धन नगर्ने पनि प्रस्ट पारे।
