Radio Unity 92.2MHz

उग्रतारामा लागेको ‘देहिजाँत’ सकियो [फोटो फिचर]

डडेल्धुरा: स्थानीय भाषामा ‘देहिजाँत’ नामले परिचित सुदूरपश्चिमको प्रसिद्ध डडेल्धुरास्थित उग्रतारा भगवती मन्दिरमा लागेको मेला सम्पन्न भएको छ। मंगलबारदेखि साँझ सुरु भएको मेला बुधबार बेलुकी सम्पन्न भएको हो।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ।

खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु भएको थियो।

दिउँसोको समयमा मन्दिरबाट गाँज निकाली बिसाल फाँटमा नचाई चार ठाउँमा यहाँका देवतालाई ढोग्ने प्रचलन रही आएको छ। बेलुकीको पूजापछि चारवटै गाउँबाट ल्याइएको डोलीसहितका देउरा गाउँमै लगेर देउघरमा राखिएपछि जाँत सम्पन्न हुन्छ।

देहिजाँतको रूपमा मानिने उग्रतारा भगवती मेला भर्न सुदूरपश्चिम, कार्णाली प्रदेशका साथै छिमेकी देश भारतबाट समेत श्रद्धालु आएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए। यो वर्षपनि हजारौंको संख्यामा श्रद्धालुभक्तजनाले मेला भरेको उनले बताए।

डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुगेका थिए।

किंवदन्ती अनुसार परापूर्वकालमा स्थानीय साँकी जातिका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो। सो रगतलाई आफूले खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कार्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने गरेको छ।

देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

वर्षमा एक पटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुखप्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रहेको छ। मेलाको अवसरमा यहाँ दर्शन गरे भगवतीले रक्षा गर्ने र परिवारले सुख पाउने जनविश्वास छ।

हेर्नुहोस् बाँकी तस्वीरहरू :

  

सम्बन्धित पाेष्टहरु
Loading...