डडेल्धुरा: डडेल्धुराको महेन्द्र माध्यमिक विद्यालय, खलंगाका विद्यार्थीहरूले उग्रतारा मन्दिर परिसर सरसफाइ गरेका छन्। देहिजाँतको क्रममा मन्दिर परिसरमा थुप्रिएको फोहर सफा गर्दै विद्यार्थीहरूले सामाजिक दायित्व र वातावरणीय सचेतना प्रदर्शन गरेका हुन्।
बिहीवार महेन्द्र माविका शिक्षक, विद्यार्थीहरुको सक्रिय सहभागितामा मन्दिर क्षेत्र र वरपरको क्षेत्र सफा गरिएको विद्यालय शिक्षक ठाकुरप्रताप भाटले जानकारी दिए।
सहभागी विद्यार्थीहरूले प्लास्टिक, कागज, बोतललगायतका फोहर संकलन गरी सुरक्षित स्थानमा व्यवस्थापन गरेका छन्। सरसफाइ कार्यपछि मन्दिर परिसर आकर्षक र व्यवस्थित बनेको जनाएको छ।
विद्यालयका शिक्षकहरूले यस प्रकारका गतिविधिले विद्यार्थीमा जिम्मेवारीबोध, समूह भावना र वातावरणप्रतिको माया बढाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले भने, ‘सफा वातावरण मात्र सुन्दरताको प्रतीक होइन, यो हाम्रो संस्कारको परिचय पनि हो।’
विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरले सबै विद्यार्थी, शिक्षकहरूलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता सकारात्मक सामाजिक क्रियाकलाप विद्यालयले निरन्तर गर्दै जाने बताए। यस सरसफाइ अभियानले समुदायमा सकारात्मक सन्देश फैलाएको र अन्य विद्यालयहरूका लागि उदाहरणीय बनेको समेत उनको भनाइ छ।


