डडेल्धुरा: भारतको गोवास्थित अरपोरा नाइट क्लबमा आगलागी हुँदा डडेल्धुराका एक युवकको मृत्यु भएको छ। भागेश्वर गाउँपालिका–१ सुकालीखेतका २२ वर्षीय मनोज जोराको आगलागीमा परेर मृत्यु भएको हो।
उनी गोवामा क्लबमा काम गर्थे। भागेश्वर गाउँपालिका–१ का वडाध्यक्ष मणिकराज भट्टका अनुसार सोमबार जोराको मृत्युबारे परिवारलाई जानकारी पुगेको हो।
आगलागीमा २५ जनाको मृत्यु र ६ जना घाइते भएका थिए। मृतकमध्ये ५ जना नेपाली रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। मनोजको गोवामा मृत्यु भएको खबर पाएपछि परिवारका सदस्य त्यसतर्फ गएका छन्।
सोमबार बेलुका शव बुझ्न बुवा श्यामसिंह र अन्य आफन्त घरबाट गोवा गएका हुन। मंगलबार बिहान दिल्ली पुगेका उनीहरू मंगलबार गोवातर्फ लागेका छन्।
भारतमा काम गर्न गएका छोराको आगलागीमा परेर मृत्यु भएपछि परिवार विक्षिप्त छ। मृतक मनोज परिवारका माइला छोरा हुन्। मनोजका दाइ भारतमै काम गर्छन्। बुवा श्याम खेतीकिसानी गर्छन्। घरमा आमाबुवा र कान्छा भाइ मात्रै छन्।
परिवारको आर्थिक स्थित कमजोर हुँदा पढ्न नपाएका उनी घरखर्च जोहो गर्न भारत गएका थिए। नागपुरमा काम गर्ने उनी केही वर्षअघि गोवा पुगेका थिए।
‘परिवारको सहारा ऊ (मनोज) नै थियो। उसकै त्यस्तो दुःखद खबर सुन्नुपर्यो,’ स्थानीय शंकरसिंह ठकुराठीले भने, ‘परिवारमा ठूलो बज्रपात परेको छ।’