डडेल्धुरा: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि डडेल्धुरााबाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्।
नेपाली कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको नाम एकलरूपमा सिफारिस गर्ने निर्णय गरेसँगै उनले चुनाव लड्ने पक्का भएको हो।
प्रतिनिधिसभा निर्वाचनका लागि देउवाको प्रदेश समितिलाई नाम सिफारिस गरिएको जिल्ला सभापति भीमबहादुर साउँदले पुष्टि गरे। डडेल्धुरा कांग्रेसका नेताहरूसँग यसअघि नै देउवाले अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने बताइसकेका थिए।
देउवा डडेल्धुराबाट आठौँपटक संघीय निर्वाचन लड्ने तयारीमा रहेका हुन्। यसअघि उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा डडेल्धुराबाटै विजयी भएका थिए।
यस्तै समानुपातिकमा नरभान कामी, मानकुमारी थापा, तारक बुढाऐर, वसन्ती भण्डारी र ईश्वरी चन्द तथा राष्ट्रियसभाको लागि भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस गरिएको छ।