Radio Unity 92.2MHz

अध्यक्षमाथि दुर्व्यवहारपछि डडेल्धुरा अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि कार्यकक्षमै गरिएको दुर्व्यवहारपछि अस्पतालले कडा निर्णय लिँदै आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ ।

बुधबार दिउँसो १ः३५ बजे नेकपा बहुमतको नाममा आएका केही व्यक्तिहरूले अध्यक्ष ओझामाथि अस्पताल परिसरभित्रै अपमानजनक व्यवहार गरेपछि अस्पताल विकास समितिले भोलिदेखि आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गर्ने भएको हो ।

दोषीमाथि कारबाही नभएसम्म कर्मचारीहरूको कमजोर मनोबललाई मध्यनजर गर्दै आकस्मिक सेवाबाहेक सबै सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको अस्पताल विकास समितिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। अस्पताल प्रशासनले यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

अस्पताल विकास समितिले यस घटनालाई ‘अराजक, गैरकानुनी र निन्दनीय’ भन्दै घोर भत्र्सना गरेको छ। अस्पतालले जारी गरेको विज्ञप्तिमा अध्यक्ष ओझा अस्पतालको सेवा प्रणाली सुधार, व्यवस्थापन सुदृढीकरण र बिरामीमैत्री वातावरण निर्माणमा सक्रिय रहेको उल्लेख गर्दै, यस्ता संवेदनशील संस्थाभित्र गरिने अराजक गतिविधिले अस्पतालको गरिमा र सेवा प्रवाहमा गम्भीर असर पर्ने चेतावनी दिएको छ।

‘यस किसिमका घटनाले कर्मचारीहरूको मनोबल गिराउँछ र उपचार सेवामा प्रत्यक्ष असर पुर्‍याउँछ,’ विज्ञप्तिमा भनिएको छ। अस्पताल विकास समितिले उक्त घटनामा संलग्न दोषीमाथि तत्काल छानबिन गरी कानुनअनुसार कारबाही गर्न सरकार, प्रशासन र सुरक्षा निकायसँग जोडदार माग गरेको छ। साथै नागरिक समाज र सरोकारवाला सबैलाई अस्पतालको पक्षमा उभिन आह्वान गरिएको छ।

प्रेस विज्ञप्ति– 

सम्बन्धित पाेष्टहरु
Loading...