डडेल्धुरा: जीवनको सात दशक पार गरिसकेपछि एनबी तामाङले अन्ततः नेपाली नागरिकताको प्रमाणपत्र हात पारेका छन्। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बुधवार ७४ वर्षीय तामाङलाई बंशजको आधारमा नागरिकता प्रदान गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले उनलाई नागरिकता हस्तान्तरण गरे। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला र संविधानसभा सदस्य ज्ञानु गैरेको विषेश पहलमा आवश्यक प्रक्रिया पूरा भएपछि तामाङले नेपाली नागरिकता पाएका हुन्।
उनी २००८ चैत ३० गते संखुवासभामा जन्मिएका थिए। तामाङ विगत करिब पाँच दशकदेखि डडेल्धुरामा बसोबास गर्दै आएका छन्। २०३५ सालमा डडेल्धुरा आएका उनी विभिन्न कारणले हालसम्म नागरिकता बनाउनबाट वञ्चित थिए। हाल उनी अमरगढी नगरपालिका–५ मा बस्दै आएका छन् र नागरिकतामा पनि सोही ठेगाना उल्लेख गरिएको छ।
नागरिकता पाएपछि तामाङले भने, ‘आज बल्ल नेपाली भएको अनुभूति भयो। पहिले नागरिकता कति आवश्यक हुन्छ भन्ने थाहा नै भएन। अब वृद्धभत्ता पाइन्छ, बुढेसकालमा सरकारले हेर्छ भन्ने थाहा पाएपछि नागरिकता बनाएको हुँ।’
१४ वर्षकै उमेरमा घर छाडेका तामाङले पूर्वी नेपालका विभिन्न ठाउँमा भौँतारिँदै सडक निर्माणलगायतका काममा मजदुरी गरेका थिए। जीवनको धेरै समय श्रम मजदुरीमै बिताएका उनी पछिल्ला ३५–४० वर्षदेखि भने डडेल्धुरामै बस्दै आएका छन्।
उनको विवाह भएपनि श्रीमतीको निधन भइसकेको छ भने सन्तान छैनन्। बुढेसकालमा राज्यको सहारा आवश्यक महसुस भएपछि नागरिकता बनाउन अघि बढेको उनले बताए। नागरिकता प्राप्त भएसँगै तामाङ अब सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा तथा अन्य राज्यका सुविधामा पहुँच पुग्ने अपेक्षा गरिएको छ।
यो पनि पढ्नुहोस् : भारतमा ‘बेखबर’ डडेल्धुराका खड्का ५५ वर्षपछि फर्किए, ७० वर्षमा पाए नागरिकता
