डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ डाँडावनमा ‘द्वारिकादेवी ठकुरानी महिला सशक्तीकरण तथा आत्मनिर्भरका लागि सात दिने उद्यमशीलता विकास तालिम’ सुरु भएको छ।
सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा बिहीबारदेखि उक्त तालिम सुरु भएको हो। महिलालाई आत्मनिर्भर र सशक्त बनाउने उद्देश्यका साथ तालिम दिन थालिएको कार्यालय प्रमुख मीनबहादुर लामिछानेले जानकारी दिए।
उनका अनुसार तालिममा सहभागी महिलाहरूलाई तरकारी खेती र बाख्रा पालनसम्बन्धी व्यावसायिक सीप प्रदान गरिनेछ। तालिममार्फत कृषिलाई कसरी व्यवसायिक रूपमा अघि बढाउन सकिन्छ भन्ने विषयमा व्यावहारिक ज्ञान दिइने बताए। सहभागीहरूलाई अनुशासित र सक्रिय भएर तालिममा सहभागी हुन कार्यालय प्रमुख लामिछानेले आग्रह गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष भक्तबहादुर कठायतले महिलाहरूको सशक्तीकरण आजको आवश्यकता भएको उल्लेख गर्दै तालिममा सिकेका सीपहरूलाई व्यवहारमा लागू गर्न आग्रह गरे।
पिछडिएका समुदाय तथा आर्थिक रूपमा विपन्न महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको तालिममा नवदुर्गा गाउँपालिका–३ का २७ जना महिलाको सक्रिय सहभागिता रहेको कार्यालयका प्राविधिक सहायक भोजबहादुर चुनाराले जानकारी दिए।
उक्त तालिमले स्थानीय महिलाहरूको आयआर्जन वृद्धि गर्दै आत्मनिर्भर बन्ने मार्गमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। तालिम चैत १८ गतेसम्म सञ्चालन हुनेछ।



