डडेल्धुरा: नेकपा (एमाले) डडेल्धुराले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ।
आइतवार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत सरकारलाई विरोधपत्र बुझाउँदै एमालेले ओलीमाथि गरिएको धरपकड गैरकानुनी र प्रतिशोधपूर्ण रहेको दाबी गरेको हो। जिल्ला अध्यक्ष गजेन्द्र शाहीको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीलाई ज्ञापनपत्र बुझाएको थियो।
एमालेले सरकारद्वारा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रहपूर्ण’ भन्दै अस्वीकार गरेको छ। उक्त प्रतिवेदन कार्यान्वयनका नाममा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध गरिएको कारबाही न्यायको आधारभूत सिद्धान्तविपरीत रहेको एमालेको आरोप छ।
विरोधपत्रमा भदौ २३ र २४ गतेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै एमालेले एकतर्फी निष्कर्ष निकालेर राजनीतिक नेतृत्वमाथि कारबाही अघि बढाइएको भन्दै आपत्ति जनाएको छ। साथै, ती घटनामा संलग्न सबै पक्षमाथि स्वतन्त्र र गहिरो अनुसन्धान गर्न माग गरिएको छ।
एमाले डडेल्धुराले आयोग खारेजी, मन्त्रिपरिषद्को निर्णय फिर्ता तथा अध्यक्ष ओलीको तत्काल रिहाइ नगरे कडा प्रतिरोधका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएको छ। यस्तो कदमले देशमा गम्भीर राजनीतिक असर पर्ने भन्दै त्यसको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने एमालेको विरोधपत्रमा उल्लेख छ।
विरोधपत्र–

