डडेल्धुरा: नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा डडेल्धुरामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। सोमवार पत्रकार महासंघ डडेल्धुरा शाखाको आयोजनामा जिल्लास्थित पत्रकारहरूबीच ब्याडमिन्टन प्रतियोगिता गरिएको हो।
प्रतियोगितामा हिक्मतबहादुर सिंह र प्रकाशबहादुर पार्कीको टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। त्यस्तै, वरूण पनेरू र शेरबहादुर भण्डारीको टिम द्वितीय तथा भीमबहादुर खत्री र टीकाराम साउँदको टिम तृतीय भयो ।
विजेताहरूलाई प्रथम पुरस्कार स्वरूप १५ हजार रुपैयाँ, द्वितीयलाई ८ हजार र तृतीयलाई ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा पत्रकारहरूका पाँच टिमको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले खेलकुद स्वास्थ्यका लागि अपरिहार्य रहेको उल्लेख गर्दै नगरपालिकाले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको र आवश्यक बजेटसमेत विनियोजन गरिएको बताए।
उनले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै समाजमा भएका सकारात्मक परिवर्तनलाई पत्रकारहरूले समाचारमार्फत उजागर गर्नुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघ शाखा, डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले पत्रकारहरूबीच मैत्रीपूर्ण वातावरणमा आयोजित प्रतियोगितामार्फत सहकार्य, एकता र स्वास्थ्यप्रति सचेतना फैलाएको बताए।
स्थापना दिवसलाई सिर्जनात्मक र उत्साहजनक रूपमा मनाउँदै आयोजित प्रतियोगिताले पत्रकारहरूबीच आपसी सम्बन्ध अझ मजबुत बनाउनुका साथै स्वस्थ जीवनशैलीप्रति सकारात्मक सन्देश दिएको उनको भनाइ छ।
पुरस्कार वितरण समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाका प्रमुख र पत्रकारहरूको उपस्थिति रहेको थियो।





