Radio Unity 92.2MHz

डडेल्धुराका दलित जनप्रतिनिधिको नेतृत्व तथा क्षमता विकास गरिँदै

डडेल्धुरा: डडेल्धुरामा दलित जनप्रतिनिधिहरूका लागि नेतृत्व तथा क्षमता विकाससम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशको आयोजनामा दलित जनप्रतिनिधिहरूको नेतृत्व क्षमता अभिवृद्धि तथा स्थानीय शासनमा प्रभावकारी सहभागिता बढाउने उद्देश्यले बिहीबारदेखि अभिमुखीकरण कार्यक्रम सुरु भएको हो।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले संघीय शासन प्रणालीमा स्थानीय तहका जनप्रतिनिधिको भूमिका तथा जिम्मेवारीबारे सहजीकरण गरेका थिए।

उनले संघीयताको अवधारणा, नेपालको संविधान, संघ–प्रदेश–स्थानीय तहबीचको समन्वय र अन्तरसम्बन्ध, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ लगायतका विषयमा प्रशिक्षण दिएका थिए।

अभिमुखीकरण कार्यक्रममा स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरूको नेतृत्व विकास, कानुनी तथा नीतिगत ज्ञान अभिवृद्धि र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको मन्त्रालयकी महिला विकास अधिकृत विन्दुकुमारी चटौतले जानकारी दिइन्।

कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहका दलित कार्यपालिका सदस्यहरूको सहभागिता रहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...