डडेल्धुरा: सुदूरपश्चिम प्रदेशको शिक्षा विकास निर्देशनालय, दिपायलले देशभरका प्रदेशस्तरीय शिक्षा विकास निर्देशनालयमध्ये कार्यसम्पादनमा उत्कृष्ट अंक प्राप्त गरेको छ।
नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र ((ERO) ले सातवटै प्रदेशका शिक्षा विकास निर्देशनालयको विभिन्न सूचकमा आधारित कार्यसम्पादन परीक्षण गर्दा सुदूरपश्चिमको शिक्षा विकास निर्देशनालयले ८३.३७ अंक प्राप्त गरेको हो।
कार्यसम्पादन परीक्षणमा प्राप्ताङ्कका आधारमा सुदूरपश्चिम पहिलो स्थानमा रहेको छ। कार्यसम्पादन परीक्षण मार्गदर्शनअनुसार ८३.३७ अंकलाई ‘धेरै राम्रो’ स्तरमा राखिएको छ।
प्रदेशगत रूपमा कोशी प्रदेशले ४९.७१ अंक प्राप्त गरेको छ। त्यस्तै, मधेशले ३९.५१, बागमतीले ८०.८७, गण्डकीले ६६, लुम्बिनीले ५७.९१ र कर्णालीले ७१.०३ अंक प्राप्त गरेका छन्।
कार्यसम्पादनको समग्र स्तरअनुसार बागमती र सुदूरपश्चिम ‘धेरै राम्रो’, गण्डकी र कर्णाली ‘राम्रो’, कोशी र लुम्बिनी ‘सामान्य वा सन्तोषजनक’ तथा मधेश ‘कमजोर’ स्तरमा रहेका छन्।
यसरी सात प्रदेशका शिक्षा विकास निर्देशनालयमध्ये दुईवटा ‘धेरै राम्रो’, दुईवटा ‘राम्रो’, दुईवटा ‘सामान्य वा सन्तोषजनक’ र एउटा ‘कमजोर’ स्तरमा रहेको एकीकृत प्रतिवेदनमा उल्लेख छ।
सर्वोत्कृष्ट अंक प्राप्त गरेपछि शिक्षा विकास निर्देशनालय दिपायलका महानिर्देशक दुर्गादत्त बिष्टले कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गरेका छन्। आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
निर्देशनालयले कार्यसम्पादनमा सहयोग र समन्वय गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास कार्यालयका पदाधिकारी तथा अन्य सरोकारवालालाई समेत धन्यवाद दिएको छ।