- पुष्पराज पनेरू
सुपको पहाडी जिल्ला, प्रकृतिको धनी।
लेक वेशी भित्री मधेस, महाभारत पनि।।
पूर्व डोटी पश्चिम भारत, उत्तरमा बैतडी ।
दक्षिण डोटी कञ्चनपुर, विकट छैन बढी।।
पाँच वटा गाउँ पालिका, जिल्ला भरि पूरा।
नगर पालिका दुईटा, मेरा डडेल्धुरा ।।
धान, गहुँ, मकै, कोदो, सबै अन्न फल्ने।
फलफूल र तरकारीले, पूरा जीवन चल्ने।।
पशुपालन घरघरै, दूध खानु दही खानु।
असजिलो केही छैन, घाँस दाउरा जानू।।
बोलिचाली कतिमीठो, सबैसँग मिल्ने ।
ब्यवहारमा डडेल्धुरी, कसैलाई नचिल्ने।।
सहयोगी भावना छ, सबै जात जाती।
आईपरे जीउपनि दिने, निकटका साथी ।।
सेती काली दुवै नदी, सहयोगी छन्।
प्राकृतिक दृश्य हेर्दा, शीतल हुन्छ मन।।
जिल्लाभरि थरीथरी, देवताका थान।
सबै छन् शक्तिशाली, ठूला बलवान्।।
उग्रतारा, दुर्गाजस्ता, शक्ति पीठ पनि।
बसेकी छिन् आनन्दले, पूर्ण रक्षक बनी।।
भागेश्वर, घण्टेश्वर, गन्याप, भूमिराज।
हिजो थिए श्रद्धा युक्त, त्यसै छन् आज।।
निमौन्या, मसानी, मष्टा, कैलीपाल, लाटो।
श्रद्धाले स्मरण गरे, देखाई दिन्छन् बाटो।।
समैजी,नङरताल,असिउँ, मणिलेकी।
सबैआत्मा खुशी छन्, देउदेवता देखि।।
ठूलासाना धेरै छन्, देउदेवतीका थान।
जतिगरे सकिँदैन, देउताको बखान।।
गहनान, परसुराम, यहीँ छन् ठूला धाम।
यो भूमि कसरी रच्यै, धन्य भगवान् ।।
सबै कुरा मिलेको छ, मेरा डडेल्धुरा।
अजयमेरु ‘कोट’ पनि, यै देखिन्छ पूरा।
रुपालको सायल झर्ना, छ हेर्न लायक।
जिल्ला मध्ये डडेल्धुरा, सबैको पायक।।
घटालबाबा आलिताल, हेंरू हेंरू लाग्ने।
जति पटक घुमेपनि, मन मुटु नथाक्ने ।।
हेर्न लायक यहीँ हजुर, अमरगढी किल्ला।
एक चोटि अवश्य पुगौं, डडेल्धुरा जिल्ला ।।२
(लेखक पनेरु गन्यापधुरा गाउँपालिका–४ जैसेरा जन्मघर भई हाल धनगढी उपमहानगरपालिका–२ कृष्णनगर चौराह बसोबास गर्छन्।)