डडेल्धुराः नेकपा एमाले डडेल्धुराको जिल्ला अधिवेशनका लागि भएको मनोनयन दर्ताको नामावली सार्वजनिक गरिएको छ। सार्वजनिक नामावली अनुसार एमाले डडेल्धुराले ११ पदमा उम्मेदवार नै पाएको छैन।
खुला सदस्यतर्फ महिला १० हुनुपर्नेमा ५ जनाको मात्र उम्मेदवारी परेको छ भने ५ जनाको उम्मेदवारी नै परेको छैन। भौगोलिक क्षेत्रअन्तर्गत प्रत्येक नगरपालिकाबाट ५ खुला र ३ महिला हुनुपर्नेमा अमरगढी नगरपालिकाबाट १ जना मात्र महिलाको उम्मेदवारी परेको छ। २ जनाको उम्मेदवारी नै परेको छैन।

यसैगरी अजयमेरु गाउँपालिकामा ३ जना खुला र दुई जना महिला हुनुपर्नेमा खुलातर्फ दुई जनाको मात्रै उम्मेदवारी परेको र एकजनाको उम्मेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ।
भागेश्वर गाउँपालिकामा २ महिला सदस्य पदका लागि १ जनाको मात्र उम्मेवदवारी परेको छ। यसैगरी दलित महिला सदस्य ४ पदका लागि दुई जनाको उम्मेदवारी परेको र दुई जनाको उम्मेदवारी नै नपरेको जनाइएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीमा एकजना अध्यक्ष पदका लागि २ जनाको उमेदवारी परेको छ। वर्तमान अध्यक्ष प्रकाश साउँद र अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपिन) ले अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन्।
यसैगरी एक उपाध्यक्ष पदका लागि ४ जनाको उमेदवारी परेको छ। उपाध्यक्षमा केशव बोहरा, खडकबहादुर बोहरा, धनबहादुर धामी (विवेक) र रूपसिंह ठकुराठीको उम्मेदवारी परेको निर्वाचन समितीले जनाएको छ।
यस्तै एक सचिव पदका लागि २ जनाको उमेदवारी परेको छ। सचिव पदमा करन ताम्राकार र गजेन्द्र शाहीले उमेदवारी दर्ता गराएका छन्।
यसैगरी २ उपसचिव पदका लागि ३ जनाको उमेदवारी परेको छ। उप–सचिवमा अन्जु गैरी, मीन बोगटी र शान्ती भट्ट जोशीको उमेदवारी परेको छ।


