डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट घटाएर ल्याएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड २३ लाख २३ हजारको बजेट ल्याएको हो।
नगरपालिकाले चालु आर्थिक वर्षभन्दा साढे १४ करोड घटाएको छ। अमरगढीले चालु आर्थिक वर्षका लागि ६३ करोड ९१ लाख ९५ हजारको बजेट ल्याएको थियो।
बिहीबार भएको १३औं नगरसभामा मेयर डिल्लीराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि वडा नम्बर १० का अध्यक्ष खेमराज भट्टले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन्।
नगरपालिकाले कुल बजेटमध्ये चालुतर्फ ३४ करोड ३५ लाख १० हजार र पूँजीगततर्फ १४ करोड ८८ लाख १३ हजार विनियोजन गरेको छ। केही नयाँ र केही पुराना कार्यक्रमलाई समेट्दै बजेट ल्याइएको छ।