डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–७ स्थित भालुखोलामा पुल नहुँदा विद्यार्थीहरू आफ्नो ज्यानै जोखिममा राखेर विद्यालय आउन बाध्य छन्। परशुराम नगरपालिका–११ र आलिताल–७ का विद्यार्थीहरू खिन्नेभाडीस्थित महादेव माविमा अध्ययन गर्न आउँछन्।
खोलामा उच्च बाढी आउँदा पुल नहुँदा विद्यार्थी विद्यालय आउनबाट वञ्चित हुने गरेको शिक्षक रमेश बोहराले बताए। उनका अनुसार उक्त खोला तरेर भट्टेनी, उत्तरखेड, जबने गाडा, सिमलबन्ड, कराले, नाराङ्गा, कटौजा र सुवाखानका विद्यार्थी आउँछन्।
पुल निर्माणका लागि पटकपटक पालिका सरकार र नेताहरूलाई ध्यानाकर्षण गर्दा पनि कुनै सुनुवाइ नभएको शिक्षक बोहराले बताए। पुल नहुँदा विद्यार्थी बर्खायामको समय धेरै दिनसम्म लगातार विद्यालय जान नपाएको स्थानीयको गुनासो छ।
आलिताल गाउँपालिकाले पर्याप्त बजेट नहुँदा पुल निर्माण गर्न नसकिएको जनाएको छ। पुल निर्माणका लागि पहल भइरहेको बताइन्छ।