डडेल्धुरा: जिल्ला सदरमुकाममा ‘अमरगढी टी–२० कप पुरुष क्रिकेट प्रतियोगिता’ सुरु भएको छ। प्रतियोगिताको शनिवार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले उद्घाटन गरे।

उद्घाटन गर्दै प्रमुख अतिथि जोशीले खेलकुद क्षेत्रमा पूर्वाधार अभाव रहेको बताए। जिल्लामा खेलकुद पूर्वाधार निर्माणका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

‘डडेल्धुरामा खेलकुद मैदान बनाउनका लागि प्रदेश सरकारबाट केही बजेट छुट्याउन सफल भएका छौँ,’ उनले भने, ‘सबै मिलेर खेलकुद पूर्वाधारको विकासमा लाग्नु पर्दछ।’ उनले खेलकुदलाई स्वास्थ्यसँग मात्रै नभई पर्यटन, अर्थतन्त्रलगायतका क्षेत्रसँग पनि जोड्नुपर्ने बनाए।

कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले स्थानीय स्तरमा हुने प्रतियोगिताबाट राष्ट्रिय खेलाडी उत्पादन हुने बताए। एक क्रिकेट मैदान नहुनु डडेल्धुराका लागि विडम्बना भएको उनको भनाइ थियो। जिल्ला सदरमुकाम क्षेत्रमा एक मैदान भए डडेल्धुरालाई क्रिकेट हब बनाउन सकिने उनले बताए।

प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले आगामी दिन यस्ता प्रतियोगिता आयोजना हुनुपर्ने बताए। सबै एकजुट भएर खेलकुद विकासमा लाग्नु पर्नेमा उनको जोड थियो। उनले प्रतियोगितामा सहभागी खेलाडीलाई अनुशासित र मर्यादित रूपमा खेल खेल्न आग्रह पनि गरे।
आयोजक सम्मान–समानता आर्थिक समृद्धि डडेल्धुराका अध्यक्ष सुरेन्द्र जैरुले युवाहरूलाई एकीकृत गर्ने उद्देश्यले प्रतियोगिता गरिएको बताए। संस्थाले अबदेखि प्रत्येक वर्ष खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने पनि बताए। उनले भने, ‘कुलतमा फसेका युवाहरूलाई पनि एक ढिक्का गर्ने हाम्रो लक्ष्य छ।’
शनिवारदेखि अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा सुरु भएको प्रतियोगिता २४ गतेसम्म सञ्चालन हुनेछ। जिल्लाको कला संस्कृति र खेलकुद विकास प्रतिष्ठा वृद्विमा खेलकुदको माध्यमले सहयोग पुर्याउनका लागि प्रतियोगिता आयोजना गरिएको दीप डडेल्धुराका निर्देशक विक्रम जैरुले बताए। प्रतियोगितामा ११ वटा टिम सहभागी छन्।

प्रतियोगिताका विजेतालाई १ लाख नगद र उपविजेतालाई ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ८ हजार, सर्वोष्कृट ब्याटरलाई नगद ५ हजार, सर्वोष्कृट बलरलाई ५ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई एक हजार प्रदान गरिनेछ। यसका साथै ट्रफी र मेडल दिइनेछ।
